चर्चित साहित्यकार आहुतिले किन छाडे माओवादी ? हेर्नुहोस्

चर्चित साहित्यकार आहुतिले किन छाडे माओवादी ? हेर्नुहोस्

काठमाडौं । धोबीघाट गठबन्धनदेखि नै वैचारिक रूपमा साथ दिँदै आएका विश्वभक्त दुलाल आहुतिले पार्टी परित्याग गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धर्मसंकटमा परेका छन् । एमाले–माओवादीबीचको पार्टी एकीकरण प्रक्रियामा असहमत हुँदै आहुतिले पार्टी परित्याग गरेको कुरा सार्वजनिक गरिएको छ । आहुतिले पनि यही संकेत गर्दै फेसबुकमा स्टाटस लेखेका छन् । उनले माघ ९ गते लेखेको स्टाटसमा भनिएको छ– ‘भूमण्डलीकृत पुँजीवाद र संसदवादका विरूद्ध वैज्ञानिक समाजवादको पक्षमा लागेको कम्युनिस्ट अभियानको म एक अभियन्ता हुँ, पहिले म रहेको पार्टीसँग सम्बन्ध विच्छेद गरिसकेको कुरा कतिपयलाई अझै भ्रम रहेकाले पुनः जानकारी गराउन चाहन्छु ।’
कम्युनिस्ट आन्दोलनलाई वैचारिक धरातलबाट अघि बढाउन सक्ने क्षमता भएका मुलुकका थोरै नेतामध्ये आहुतिलाई लिइन्छ । तर उनको बहिर्गमनलाई माओवादीका अधिकांश नेताहरूले खासै नोटिसमा लिएका छैनन् । तर नारायणकाजी श्रेष्ठले भने आहुति आफैं बाहिरिएको नभएर वर्षमान पुनलगायतका धन्धावालहरूले पार्टीबाट बाहिर धकेलेको आरोप लगाएका छन् । आहुतिले पार्टी परित्याग गरेलगत्तै ट्विट गर्दै नारायणकाजीले भनेका छन्– ‘मानव जीवन मुक्तियात्रा हो । जसले यो सत्यलाई आत्मसात गर्छ, उसले सार्थक जीवन बाँच्छ । जसले यो बुझ्दैन, ऊ बाँच्छ मात्र, मुक्तियात्राबाट बिचलित हुन्छ र मुक्ति टाढा जान्छ । जसले राजनीतिलाई मुक्तियात्राको अंगको रूपमा लिन्छ, उसका लागि राजनीति सत्य, न्याय, परिवर्तन र जनसेवाको निम्ति हुन्छ । राजनीतिलाई मुक्तियात्राको रूपमा नलिनेहरूका निम्ति राजनीति एक व्यवसाय, व्यापार र धन्दा मात्र हो । मुक्तियात्राको महत्वपूर्ण अंगको रूपमा राजनीतिमा क्रियाशील म जस्ताका लागि धन्दावालहरूको पकडको अहिलेको राजनीति निकै कष्टकर छ । तर सोच्छु, यो राजनीति फेर्न त म राजनीतिमा छु र फेरि अघि बढ्छु ।’
धोबीघाट गठबन्धनपछि प्रचण्डको हनुमान भएर काम गरेका आहुति एमाले–माओवादी चुनावी तालमेल तथा पार्टी एकीकरण अभियानका अभियन्ता थिए । संयुक्त चुनावी घोषणापत्र लेखनको नेतृत्व आहुतिले नै गरेका थिए । ललितपुर जिल्लाबाट प्रदेश सभा निर्वाचनमा आहुतिकी श्रीमती बुद्धलक्ष्मी महर्जनको विकल्प नभएको चर्चा चुनावअघि नै गरिएको थियो ।
लामो समय पार्टीमा क्रियाशील तथा स्थानीय ज्यापू समुदायको समेत भएकाले बुद्धलक्ष्मीले टिकट पाँउदा चुनाव जित्न सजिलो थियो । तर अन्तिम अवस्थामा बुद्धलक्ष्मीको नाम काटेर वर्षमान पुनकी बहिनी सुशीला पुनलाई उम्मेदवार बनाइयो । पहिलो कुरा त, रोल्पाबाट ललितपुरको नेवार बाहुल्य क्षेत्रमा आएर चुनाव जित्न सजिलो थिएन, दोस्रो कुरा उनी पार्टीमा क्रियाशील थिइनन् । आइएनजीओमा काम गर्थिन् । उनले चुनाव हारिन् । यो दोष वर्षमान पुनले आहुतिमाथि थुपारे । आहुतिले असहयोग गरेका कारण आफ्नी बहिनीले चुनाव हारेको भन्दै वर्षमान पुनले अध्यक्ष प्रचण्डकहाँ कुरा पु¥याए । त्यहीबेला देखि नै आहुति र प्रचण्डबीचको सम्बन्धमा दरार उत्पन्न हुन सुरु भयो ।
श्रीमती बुद्धलक्ष्मीलाई राष्ट्रिय सभामा ल्याएर आहुतिलाई पार्टीबाट विचलित हुन नदिने प्रयास नारायणकाजीले सुरु गरेका थिए, तर गत माघ ९ गते यो प्रयास विफल भयो । तरुणखबर डट कमले खबर छापेकाे छ ।
बुद्धलक्ष्मीको सट्टा हरि दाहालकी श्रीमती गंगा पराजुलीलाई उम्मेदवार बनाइयो । अब आहुतीका लागि पार्टी परित्याग गर्नु र नयाँ पार्टी गठन गर्नुको विकल्प नरहेको उनी निकट एक नेताले बताए । तर अहुतीले भने आफैं पार्टी नेतृत्वमा नआउने बताएका छन् ।