चितवन । लेखक रवीन्द्र मिश्रले आफ्ना ३ पुस्तकको रोयल्टी (लेखकस्व) चेपाङ बालबालिकाको शिक्षामा सहयोग गरेका छन् । अहिलेसम्म उनले करिब ११ लाख रुपैयाँ सहयोग गरिसकेका छन् । ३ वटा पुस्तक सार्वजनिक गरिसकेका मिश्रले बिक्रीबाट आएको सबै रकम कोषमा रहने गरी सहयोग गरेका हुन् ।
तेस्रो पटक उनले शनिबार मितेरी फाउन्डेसनले स्थापना गरेको ‘खान पुगोस्, दिन पुगोस्’ अक्षयकोषका लागि ३ लाख ५० हजार हस्तान्तरण गरे । उनले सुरुमा ‘भूमध्य रेखा’ पुस्तक बिक्रीबाट आएको २ लाख २८ हजार रुपैयाँ खैरहनीमा रहेको अन्तोदय जनजाति विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सहयोग गरे । उक्त रकमबाट १० जना चेपाङ बालबालिकाले आवासीय सुविधासहित अध्ययन गर्ने अवसर पाएका थिए । त्यस्तै, उनले दोस्रो पुस्तक ‘खान पुगोस्, दिन पुगोस्’ बाट पनि ५ लाख १८ हजार कोषमा जम्मा गरे । यसपछि उनले ‘रवीन्द्र मिश्रका कविता संग्रह’ र अन्य पुस्तक बिक्रीबाट आएको रोयल्टी रकम कर कटाएर ३ लाख ५० हजार रुपैयाँ शनिबार सहयोग गरेका हुन् । सबै गरेर उनले १० लाख ९६ हजार हन्तान्तरण गरिसकेका छन् ।
उनले सही ठाउँमा सहयोग गर्न पाउँदा मन प्रफुल्लित भएको बताए । ‘यस्तो कार्यले एकअर्कोलाई प्रेरित गर्छ,’ उनले भने, ‘त्यही भएर सबैले परोपकारी कामलाई प्रवद्र्धन गर्न जरुरी छ ।’
पहिलो पुस्तक ‘भूमध्य रेखा’ बाट आएको रकम साथीहरूले मिलेर खोलेको संस्था हेल्प नेपालमा सहयोग गर्न तयार भएका थिए । त्यही बेला उनले चितवनका पत्रकार एकल सिलवालले सामाजिक सञ्जाल फेसबुकमा राप्ती नगरपालिका १३ स्थित कान्दा गाउँको दर्दानक फोटो राखे । जुन फोटोले उनका आँखा रसाए । ‘फोटो हेरेपछि मलाई पुस्तक बिक्रीबाट आएको रकम तुरुन्त सहयोग गर्न मन लाग्यो,’ उनले भने,‘कोषको रकमबाट विकटका चेपाङ बालबालिकाले पढ्न पाएका छन्, यो नै परोपकारी काम हो ।’
उनले विकट कान्दाको भीरमा गएर वेदना हेरेर काम गर्न सजिलो नभएको भन्दै मितेरी फाउन्डेसनको अगुवाइमा भएको काम प्रशंसनीय रहेको बताए ।
मिश्रले ‘कान्दाका चेपाङ’ शीर्षकमा कविता सुनाएर आफ्नो विचार राखेका थिए । उनले ५ वटा कविता सुनाए । उता मितेरी फाउन्डेसनका अध्यक्ष एकल सिलवालले मिश्रकै पुस्तकको नामबाट अक्षयकोष स्थापना गरेको बताए । ‘यो संस्था मित्रता र सद्भाव राख्ने संस्था हो,’ उनले भने, ‘त्यसैले संस्था स्थापनाको प्रेरणाको स्रोत नै रवीन्द्र मिश्र हुनुहुन्छ ।’ ०६७ साल चैत २५ गते उक्त संस्था स्थापना गरियो । सिलवालले कोषको रकम शतप्रतिशत सदुपयोग हुने बताए । कोषमा रहेको रकम र आउने ब्याजबाट कान्दास्थित कान्देश्वरी आधारभूत विद्यालयमा दुई जना शिक्षक राखिएका छन् ।
एक दिनको दूरीमा रहेको कान्दाबाट आएका कान्देश्वरी आधारभूत विद्यालयका प्रअ बालकृष्ण थपलिया र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर तामाङले ब्याजबाट आएको ४० हजार र कोषको ६० हजार बुझे ।
उक्त विद्यालयमा १ सय ५३ जना बालबालिका अध्ययन गरिरहेका छन् । उनीहरूलाई काठमाडौंस्थित लक्ष्मी प्रतिष्ठानले छात्रावास निर्माण गरी आवासीय सुविधासहित पढ्ने व्यवस्था मिलाएको छ ।
‘हाम्रो उद्देश्य १० लाखसम्म बनाएर त्यसको ब्याजबाट आउने रकमबाट चेपाङ बालबालिकाको पढाइमा सहयोग गर्ने भन्ने थियो,’ अध्यक्ष सिलवाललेभने, ‘अहिले ११ लाख जम्मा भयो, सुरुमा मिश्रबाट आएको रकम अन्तोदय विद्यालयमा चेपाङ बालबालिकाराखेर पढ्न खर्च गरियो ।’ उनले कुनै पनि अभावले पढाइ नरोकियोस् भनेर उनीहरूलाई पढाउने लक्ष्य प्रमुख रहेको बताए ।