विश्वमा रक्सीको खपत ३० वर्षमा दोब्बर

विश्वमा रक्सीको खपत ३० वर्षमा दोब्बर

काठमाडाैं, २६ वैशाख ।  सन् १९९० को तुलनामा प्रतिव्यक्ति मदिरा खपत सन् २०१७ मा दश प्रतिशतले बढेको छ। चीन र भारतमा मद्यपान वृद्धि हुँदै गएकाले यस्तो भएको अनुसन्धाताहरूले बताएका छन्। आउने दशकमा विश्वभर प्रतिव्यक्ति थप १७ प्रतिशत मदिरा खपत हुने उनीहरूले बताए।

सन् २०३० सम्म विश्वका वयस्कहरूको आधा जनसंख्याले मदिरा पिउनेछन्। एक सय ८९ देशको तथ्याङ्कका आधारमा गरिएको प्रक्षेपण अनुसार करिब एक चौथाइ जनसंख्याले कम्तिमा महिनाको एक पटक ‘बिञ्ज ड्रिङ्क’ गर्नेछन्। छोटो अवधिमा अत्यधिक मदिरा सेवन गर्नुलाई ‘बिञ्ज ड्रिङ्किङ’ भनिन्छ।‘हानिकारक मदिरा प्रयोग घटाउने विश्वव्यापी लक्ष्य प्राप्त गर्ने बाटोमा विश्व अघि बढेको छैन,’ अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। मदिरामा अत्यधिक कर लगाउने र विज्ञापन प्रतिबन्ध गर्नुपर्ने लगायतका आक्रामक नीति कार्यान्वयन गर्नुपर्ने माग पनि अघि सारिएको छ।

विश्व स्वास्थ्य संगठनले सन् २०२५ सम्म ‘हानिकारक मदिरा प्रयोग’ दश प्रतिशतले घटाउने लक्ष्य लिएको छ। मदिरालाई दुई सयभन्दा धेरै रोगसँग जोडिएको छ। मदिराकै कारण वार्षिक ३० लाखभन्दा धेरैको ज्यान जाने र तीमध्ये ७५ प्रतिशत पुरूष हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ।विश्वभर झण्डै २३ करोड ७० लाख पुरूष र चार करोड ६० लाख महिला मदिरा सम्बन्धी समस्याबाट पीडित छन्। तीमध्ये सबैभन्दा बढी युरोप (पुरूष १५ प्रतिशत र महिला ३.५ प्रतिशत) र उत्तर अमेरिकामा (११.५ प्रतिशत पुरूष र ५ प्रतिशत महिला) छन्।

‘सन् १९९० अघि, उच्च–आय भएका देशमा अत्यधिक मदिरा खपत हुन्थ्यो। तीमध्ये सबैभन्दा धेरै युरोपमा खपत हुन्थ्यो,’ अध्ययन प्रतिवेदनका मुख्य लेखक जेकब म्यान्थेले बताए। उनी ड्रेस्डेन, जमर्नीस्थित इन्स्टिच्युट अफ क्लिनिकल साइकोलोजी एन्ड साइकोथेरापीका अनुसन्धाता हुन्।तर यो प्रवृत्तिमा उल्लेखनीय परिवर्तन आएको छ। पूर्वी युरोपमा मदिरा खपत अत्यधिक घटेको छ भने चीन, भारत र भियतनामजस्ता मध्यम–आय भएका थुप्रै देशमा अत्यधिक वृद्धि भएको छ।’