मालिकाको उपन्यास ‘सुवर्णलता’ विमोचित

मालिकाको उपन्यास ‘सुवर्णलता’ विमोचित

काठमाडौं । मालिका केशरीद्वारा लिखित उपन्यास ‘सुवर्णलता’को विमोचन भएको छ ।

काठमाडौंमा सोमबार संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त तथा प्राज्ञ गीता केशरीले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए । पुस्तकमा नारीको वर्तमान अवस्था र विगतको तुलना गरिएको छ । बौद्ध दर्शनको बारेमा पुस्तकमा परिचर्चा गरिएको पाइन्छ ।

पुस्तकको बारेमा बोल्दै सरुभक्तले भने, ‘नेपाली साहित्यमा युवा पुस्ताको प्रवेश आशालाग्दो तवरले भएको छ । आत्मैदेखिको चाहनाले उत्प्रेरित भएर लेखकले साहित्य सिर्जना गरेका छन् ।’ उपन्यास नायिका प्रधान भएको चर्चा गर्दै उनले यस्ता कृतिबाट नेपाली साहित्यको भण्डार वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।

प्राज्ञ गीता केशरीले उपन्यासको बारेमा समीक्षा गरेकी थिइन् । उनले बुद्ध वाणीमा आधारित यस्ता सिर्जना नेपाली साहित्यमा आवश्यक भएको बताइन् । साल्दाङमा बाटो खन्दा भेटिएकी नायिका सुवर्णलताबाट उपन्यासले नयाँ मोड लिन्छ । मिथकीकरण गरेर भए पनि बुद्ध उपदेशलाई स्थान दिएको भन्दै थप यस्ता रचना आउनेमा उनले आशा व्यक्त गरिन् ।

उपन्यासमा लेखाकले देखाएको हजुरआमा र नातिनी बिचको सम्बन्ध अति नै सौहार्द रहेको चर्चा गर्दै उनले भनिन् यसले बृद्धबृद्धालाई गरिने ब्यवहारमा नै परिवर्तन ल्याउन सक्ने बताइन् ।

लेखक मालिका केशरीले हजुरआमाले बाल्यकालमा सुनाएका कथाबाट नै आफूमा लेखनकला विकास भएको विचार व्यक्त गरे । कार्यक्रममा लेखककै ‘पुनरुत्थान’ को दोस्रो संस्करणको पनि विमोचन गरिएको थियो । त्यस पुस्तकमा द्वन्द्वकालमा नेपाली समाजको अवस्था चित्रण गरिएको छ ।

तत्कालीन परिवेशमा सर्वसाधारण कसरी विद्रोही र सेनाको दोहोरो चेपुवामा परेका थिए भन्ने विस्तृत वर्णन गरिएको छ ।
मालिका केशरीका दुवै उपन्यास सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।