स्याटेलाइट हेर्दाहेर्दै विपत्तिको खबर: मौसम पूर्वानुमान महाशाखा

स्याटेलाइट हेर्दाहेर्दै विपत्तिको खबर: मौसम पूर्वानुमान महाशाखा

काठमाडौं, १९ चैत । बारा र पर्सा क्षेत्रमा आइतबार साँझ अत्यधिक वर्षा, चट्याङ र हावाहुरी एकैचोटी आयो । त्यसको जानकारी जल तथा मौसम विज्ञान विभाग र मौसम पूवार्नुमान महाशाखालाई थिएन ।

पूर्वानुमान महाशाखाको ड्युटीमा खटिनु भएका मौसम पूर्वानुमान अधिकृत मिनकुमार अर्यालले पनि बारा, पर्साको विपत्ति अनुमान नै गर्नु भएन । साँझ एक्कासि स्याटेलाइटले हावाको बेग पूर्वतिर फर्किएको देखायो ।

“म हरेक दश मिनेटमा स्याटेलाइटले पठाएको तस्बिर हेर्दै थिएँ, अनि चट्याङ रेकर्ड गर्ने सिस्टम हरेक तीन–तीन मिनेटमा हेर्न थालेँ,” उहाँले थप्नुभयो, “मौसमको सङ्केत चार्टको अध्ययन पनि साथसाथै गर्दै थिएँ । तर यी सबैले मध्य तराईस्थित बारा र पर्सा क्षेत्रमा एक्कासि वर्षा, हुण्डरी र चट्याङ आउनसक्ने सम्भावना भने देखाउन सकेन ।” याे खबर आजकाे गाेरखापत्र दैनिकमा चाँदनी हमालले लेख्नुभएकाे छ ।

वर्षातको विपत्ति रोक्न देशभरमा आकाशबाट परेको वर्षात मापन गर्न ९१ वटा र नदीको सतह मापन गर्न ५० वटा स्टेशनबाट काम भइरहेको विभागले जनाएको छ । आउँदो डिसेम्बरसम्ममा आकाशे पानीको मापन गर्ने ८० र नदी सतह मापन गर्ने ७० स्टेसन थप्ने योजना विभागको छ ।

नेपालसँग जापानले सहयोग गरेको स्याटेलाइट र चट्याङ रेकर्ड गर्ने प्रविधि सहितको मेसिन मात्र छ । मौसमको सबै इकाइ मापन गर्ने राडार प्रविधि अझै परिक्षणकालमै छ ।

हावाको वेग मापन गर्ने छुट्टै प्रविधि नेपालमा छैन । हालैमात्र सुर्खेतको गुराँसे डाँडामा राडार जडान गरी अध्ययन भइरहेको छ ।  याे खबर आजकाे गाेरखापत्र दैनिकबाट लिएका हाैं ।