काठमाडौं, २ चैत । सरकारले २०७६ सालका सार्वजनिक बिदा हुने दिनको तालिका सार्वजनिक गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बिदा सार्वजनिक गरेको हो ।
पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दसैं बिदा, तिहार बिदा, दिवस बिदा, दिवस जयन्ती बिदा र सट्टा बिदा भनेर विभिन्न शीर्षकमा बिदा छुट्टयाइको छ ।
पर्व बिदाअन्तर्गत नववर्ष बैसाख १, शिवरात्री फागुन ९ र फागु पूर्णिमा पहाडी तथा भित्री मधेशका ५८ जिल्लामा फागुन २६ र अन्य जिल्लामा फागुन २७ गते बिदा दिइने गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो ।
त्यस्तै सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका आधारमा पनि विभिन्न पर्वमा बिदा दिइने छ । किराँत राई याख्था, सुनुवार, लिम्बू जातिका उभौली पर्व जेठ ४, गौरा पर्व भदौ ६, इद पर्वका अवसरमा समेत सरकारले बिदा दिएको छ ।
छठ पर्व, इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा), किराँत जातिको उधौली पर्व, यमरी पुन्ही, ज्यापू दिवस मङ्सिर २६, इसाई धर्मावलम्बीहरुको क्रिसमस डे पुस ९, तमु ल्होसार पुस १५, माघे सक्राङ्न्ति माघ १, सोनाम ल्होसार माघ ११, ग्याल्पो ल्होसार फागुन १२, सिरुवा पावनी पर्व (झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी), धवाथाम्बु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा दिइने छ । महिला कर्मचारीका लागि भदौ १६ गते हरितालिका तीज र असोज ५ गते जितिया पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।
यसैगरी शिक्षण संस्थाका लागि बसन्तपञ्चमी माघ १६ गतेका दिन बिदा दिइने छ । जात्रा बिदामा काठमाडौं उपत्यकाका लागि मात्र चार जात्रामा सार्वजनिक बिदा दिइने भएको छ ।
गाइजात्रा साउन ३१, इन्द्रजात्रा भदौ २७, मछिन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा देखाउने दिन) र घोडे जात्रा चैत ११ गते सार्वजनिक बिदा दिइने छ । यस्तै सरकारले दसैं बिदा पाँच दिन दिने भएको छ । फूलपातीदेखि एकादशीसम्म (असोज १८–२२) सम्म दसैं बिदा हुनेछ ।
लक्ष्मीपूजादेखि भाइटीकासम्म तीन दिन तिहार बिदा हुनेछ । यसैगरी दिवस बिदाअन्तर्गत विश्व मजदुर दिवस (वैशाख १८), संविधान दिवस (असोज ३), अन्तराष्ट्रिय महिला दिवस (फागुन २५) र अन्तराष्ट्रिय अपाङ्गता दिवस (मङ्सिर १७) अपाङ्गता भएका सम्पूर्ण कर्मचारीलाई सार्वजनिक बिदा दिइने भएको छ ।
जन्मजयन्ती बिदामा बुद्ध जयन्ती (जेठ ४), सम्बन्धित धर्मावलम्बीका लागि गुरुनानक जयन्ती (कात्तिक २६), फाल्गुनन्द जयन्ती (कात्तिक २५) बिदा दिइने छ । सरकारले केही दिवसलाई राष्ट्रिय रुपमा मनाइए पनि कार्यालय भने खुल्ने जनाएको छ ।