

देवबहादुर कुँवर
काठमाडौँ, माघ २४ गते । काठमाडौंँको डल्लु आवासक्षेत्रमा २०७१ सालमा भएको हत्या घटनामा संलग्न एक अभियुक्त लामो समयको अनुसन्धानपछि सीसी क्यामेराको सहयोगमा पक्राउ पर्न सफल भए ।
त्यस्तैं, सीसी क्यामेरामा कैद भएको फुटेजकै सहयोगमा २०७२ सालमा बिजुलीबजारमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकलाई ठक्कर दिई फरार ट्याक्सी चालक पक्राउ परेका थिए । सो घटनामा मोटरसाइकल चालकको मृत्यु भएको थियो । काठमाडौँ उपत्यकाको शान्तिसुरक्षाका लागि जडान गरिएका सीसी क्यामेराको सहयोगबाट आर्थिक वर्ष २०७४÷७५ मा विभिन्न ट्याक्सीमा छुटेको करीव ४२ लाख ११ हजार रुपियाँ नगद सम्वन्धित ब्यक्तिलाई बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी कार्यालयले अपराध रोकथाम तथा नियन्त्रण र अपराधको सफल अनुसन्धानमा सीसीक्यामेरा प्रविधि दिनप्रति दिन प्रभावकारी बन्दै गएको बताइएको छ । प्रहरी अधिकारीका अनुसार उल्लेखित घटनाहरू सीसीटीभी प्रयोगबाट प्राप्त केही प्रतिनिधि उदाहरण मात्र हुन् ।सीसीटीभी ‘भिजुअल’ (दृश्य) प्रविधि हो र यसै प्रविधिलाई परिस्कृत गर्दै नेपाल प्रहरीले ‘¥यापिड’ सूचना प्रणाली तथा ड्रोन क्यामेराको समेत प्रयोग गर्न थालेको छ । अपराधको रोकथाम, नियन्त्रण र घटित अपराधको सफल अनुसन्धानमा यो प्रविधि प्रभावकारी हुने विश्वास गरिएको छ ।
शान्तिसुरक्षा तथा अपराध नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन र अपराध अनुसन्धानलाई आधुनिकीकरण गर्न ‘भिजुअल’ प्रविधि प्रयोग बढाउन सरकार तथा प्रहरी सङ्गठनको प्राथामिकता भएको सञ्चार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा. राजीव सुब्वाले बताउनुभयो । यो प्रविधिले प्रहरीलाई क्षितिजभन्दा टाढा पनि कमान्ड गर्न सक्ने क्षमता प्रदान गरेको छ भन्दै उहाँले थप्नुभयो, ‘एउटै च्यानलमा बसेर धेरै प्रयोगकर्तासँग अडियो, भिडियो, मेसेज यसबाट सेयर गर्न सकिन्छ । विपद तथा आपतकालीन अवस्थामा अन्य सञ्चारमाध्यममा सम्पर्कविहीन भएको अवस्थामा पनि यो प्रविधि प्रभावकारी हुन्छ ।’ उहाँका अनुसार, आपतकालीन अवस्थामा पनि १५ मिनेटमै यस किसिमको प्रविधि जडान गरी सञ्चालन गर्न सकिन्छ । अति विशिष्ट, विशिष्ट व्यक्ति लगायतको सुरक्षा व्यवस्थापनमा यसको प्रयोग गर्न सकिन्छ । प्रहरी नायब महानिरीक्षक डा. सुब्वा भन्नुहुन्छ, ‘नेपाल प्रहरीमा हाल ५० सेटसहित यो प्रविधि प्रयोगमा छ ।’
घटनास्थलमा भिडियो खिच्दाखिच्दै प्रहरी प्रधान कार्यालयस्थित कमान्ड सेन्टरबाट दृश्य निगरानी गर्न सकिने यो प्रविधिलाई निकट भविष्यमै विपद व्यवस्थापनका लागि सातवटै प्रदेशमा प्रयोग गर्ने योजना रहेको छ । त्यस्तैं, अवाञ्छित गतिविधिको निगरानी तथा ट्राफिक व्यवस्थापनमा ड्रोनक्यामेरा प्रयोग हुने भएको छ । प्रहरीसँंग तीनवटा ड्रोन क्यामेरा र दुईजना पाइलट रहेका छन् । आगामी दिनमा ड्रोनको प्रयोगलाई अझै विशिष्टिकृत गर्ने योजना नेपाल प्रहरीको रहेको छ । प्रहरीले २०६१ सालबाट सीसीटीभी प्रयोगमा ल्याएको हो । काठमाडौंँ उपत्यकामात्र ४७४ वटा सीसी आईपी क्यामरा जडान गरी सुरक्षा निगरानी गर्दै आएको छ ।
सहरीक्षेत्र, सीमा तथा राजमार्ग लगायतका संवेदनशील क्षेत्रमा सीसीटीभी लगायतका भिजुअल प्रविधि जडान गर्ने, विस्तार गर्ने, कामलाई अभियानकै रुपमा अगाडि बढाइएको प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो,‘अपराध नियन्त्रण गर्न र अनुसन्धानमा प्रविधिको प्रयोग महत्वपूर्ण छ ।’ देशका मुख्य सहरहरु, सीमा नाका, राजमार्गलगायतका महत्वपूर्ण स्थानमा ९९०, काठमाडौँ, भक्तपुर र ललितपुरमा ४७४, प्रदेश १ मा ३६२, प्रदेश २ मा ४४७, प्रदेश ३ मा ४७५, गण्डक प्रदेश ४ मा ४७०, प्रदेश ५ मा ४५७, कर्णाली प्रदेशमा ११२ र प्रस्तावित सुन्दर सुदूरपश्चिममा ११९ वटा सीसीटीभी जडान भएका छन् ।लामो दूरीका सवारी साधनमाथि निगरानी राख्न भिजुअल प्रविधि अन्तर्गत ‘ड्राइभिङ चेक मोबाइल एप’ प्रणाली जडान गरिने बताइएको छ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।