

काठमाडौँ, ४ माघ । नैनसिंह महर नेतृत्वको केन्द्रीय कार्यसमिति तत्काल विघटन गरी तदर्थ समिति बनाउन नेविसंघका नेता तथा कार्यकर्ताले बिहीबार कांग्रेस शीर्ष नेताहरूलाई दबाब दिएका छन् । यो कार्यसमितिले संघको महाधिवेशन गराउन र आसन्न स्ववियु निर्वाचन हाँक्न नसक्ने उनीहरूको निष्कर्ष छ । यो खबर आजको कान्तिपुर दैनिकमा विस्तृतमा प्रकाशित छ ।
जुलुससहित गएका नेता–कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेतालाई भेटेर यस्तो दबाब दिएका हुन् । नेविसंघ काठमाडौं जिल्ला कार्यसमिति अध्यक्ष मनोज वैद्यको संयोजनमा गएको टोलीले तत्काल महर नेतृत्वको कार्यसमिति विघटन नगरे नेताहरूकै विरोधमा उत्रने चेतावनी दियो । उनीहरू मोटरसाइकल र्यालीसहित देउवा निवास बूढानीलकण्ठ र पौडेल निवास बोहराटार गएका हुन् ।
पार्टीले बुधबार महर नेतृत्वको कार्यसमितिलाई कामचलाउ हैसियतमा सीमित बनाएको थियो । भदौ २ गते नै म्याद सकिए पनि कार्यसमितिलाई महाधिवेशन गराउन दुई पटकमा ५ महिनाको थप समय दिइएको थियो । पटकपटक म्याद थप्दा पनि महाधिवेशन गराउन नसकेपछि पार्टी केन्द्रीय कार्यसमितिले तत्काल कामचलाउ हैसियतमा राख्ने निर्णय लिएको हो । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।