‘राजधानीमा स्वाइनफ्लुका बिरामी छैनन्’

‘राजधानीमा स्वाइनफ्लुका बिरामी छैनन्’

काठमाडौँ, ३ माघ । राजधानीमा केही मानिसमा रुघाखोकीको समस्या देखिए पनि त्यो स्वाइनफ्लु नभएको स्पष्ट पारिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वाइनफ्लु फैलिएको नभएको स्पष्ट पारेको हो । बिगत दुई महिनामा १४६ जना व्यक्तिमा सिजनल इन्फ्लुएन्जा (मौसमी रुघाखोकी ) का बिरामी देखापरेको शाखाले जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

महाशाखाका अनुसार मङ्सिर र पुस महिनामा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३३४ जना बिरामीको ¥यालको नमूना परीक्षण गर्दा १६८ जना बिरामीमा इन्फ्लुुएन्जा प्रमाणित भएको थियो । ती मध्ये १४६ जनामा इन्फ्लुएन्जा ए एचवान एनवान पीडीएम नाइन, नौ जनामा इन्फ्लुएन्जा ए एच थ्रि र १३ जनामा इन्फ्लुएन्जा बी रहेको प्रमाणित भएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले पुस महिनामा काठमाडौँमा इन्फ्लुुएन्जा रोग प्रमाणित एक जना व्यक्तिको स्वास्थ्य थप जटिल भई मृत्यु भएको जानकारी दिनुभयो ।

डा. लालले केही सञ्चार माध्यमले स्वाइनफ्लु भने पनि हालसम्म स्वाइनफ्लु नभएको जानकारी दिनुभयो । नेपालमा हालसम्म बङ्गुरबाट स्वाइनफ्लु मानिसमा नसरेको भन्दै उहाँले यो रोग मानिसबाट मानिसमा सर्ने सिजनल इनफ्लुएन्जा मात्र रहेको जानकारी दिनुभयो ।

सिजनल इन्फ्लुएन्जा कुनै नयाँ रोग नभई श्वासप्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने तीब्र खाले सङ्क्रामक रोग भएको जानकारी दिदै निर्देशक लालले जाडो मौसम तथा मौसम परिवर्तन हुने वेलामा अघि पछिको भन्दा मौसमी रुखाखोकीसहितको ज्वरोबाट मानिस प्रभावित हुने गरेको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।