आमरण अनशनको सातौं दिनः डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

आमरण अनशनको सातौं दिनः डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाडौं, २ माघ । स्वास्थ्य क्षेत्रका विविध माग राखेर १६ औं पटक अनसनमा बस्नुभएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ ।

सरकारले आफूसँग गरेको सहमति अनुसार हुबहु चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै इलामबाट अनसन सुरु गर्नुभएका डा. केसीको अनसनको आज सातौं दिन हो ।

सातौं दिनको अनसनमा उहाँको स्वास्थ्य गम्भीर बनिसकेको चिकित्सकहरुले बताएका छन् । डा.केसीको उपचारमा खटिनुभएका जिल्ला अस्पताल इलामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट वृजेन्द्रकुमार साहका अनुसार डा.केसीलाई विभिन्न स्वास्थ्य समस्याले सताउन थालेको छ ।

केसीको स्वास्थ्य रिपोर्ट अनुसार उहाँको शरीरमा रगत र चिनीको मात्र कम हुँदै गइरहेको छ भने संक्रमण अझ बढ्दै गएको छ । त्यस्तै टाउको दुख्ने, पेट पोल्ने, खुट्टाको मांशपेसी दुख्ने र स्वास फेर्न अप्ठ्यारो हुन थालेको छ । डा. केसीको स्वास्थ्य गम्भिर बन्न थालेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरहरुको टिम इलाम पुगेको छ ।