भूकम्प सुरक्षा दिवसः पुनर्जन्म पाएका सोनिस कखरा चिन्दै

भूकम्प सुरक्षा दिवसः पुनर्जन्म पाएका सोनिस कखरा चिन्दै

काठमाडौँ, २ माघ । भक्तपुर महाकालस्थान ब्यासीका सोनिस अवाल पाँच वर्ष पुगे । २०७२ साल बैशाख १२ गतेको महाविनाशकारी भूकम्पमा परी उनलाई २४ घण्टापछि घरको भग्नावशेषबाट जीवितै उद्धार गरिएको थियो । कतिपयले सोनिसलाई पुनर्जन्म पाएका बालक पनि भन्ने गर्छन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

बैशाख १२ गते अर्थात् भूकम्पका दिन सोनिस चार महिना १८ दिनका शिशु थिए । भूकम्प आउँदा बुबा–आमा घर बाहिर थिए । दिदी सोनियाले भाइ सोनिसलाई बोकेर भाग्न खोज्दा लडिन् । भाइ हातबाट खस्नु र घर गल्र्याम्गुर्लुर्मु ढल्नु एकै पटक भयो ।

त्यो बेलाको त्रासदीलाई सम्झँदै १३ वर्षीया दिदी सोनिया भन्छिन्, ‘‘घर लडे पनि म जोगिएँ, भाइ पुरियो ।’’ भूकम्प गएको दिन सोनिसको उद्धार हुन सकेन । आमा रश्मिला र बुबा श्यामले छोराको दीर्घायुका लागि बारम्बार भगवान् पुकारे।

गोरखापत्र दैनिक लेख्छ– घरको भग्नावशेषमा एक शिशु पुरिएको खबर नेपाली सेनालाई राति नै पुगेपछि भोलिपल्ट बिहान उद्धार शुरु भयो । उद्धारमा खटिएका सेनाले करिब तीनघण्टा लगाएर जीवितै उद्धार गरी आमा–बुबाको जिम्मा लगाउँदा सोनिस मुसुक्क मुस्कुराएका थिए। त्यो बेला यो घटनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि महत्व दिएका थिए ।

उद्धारमा खटिएका सेनाका अनुसार, सिलाई गर्ने मेसिन राख्ने फलामे टेबुलमुनि परेका कारण सोनिस बाँच्न सफल भएका थिए । आमा रश्मिला भन्छिन्, ‘अथक प्रयासपछि सोनिसको उद्धार भएकाले सेनाले पढाई खर्च व्यहोर्ने घोषणा पनि भएको हो ।’’

हाल, ब्यासीस्थित एभरेष्ट बोर्डिङ स्कुलमा नर्सरी कक्षामा पठनपाठन गरिरहेका सोनिसलाई यसवर्षका लागि पढाई खर्च वापत सेनाले ५० हजार रुपियाँ प्रदान गरिसकेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख एवं प्रवक्ता यमप्रसाद ढकालले सोनिसलाई स्नातक तहसम्म सेनाले अध्ययन खर्च व्यहोर्ने बताए ।

पाँच कक्षासम्म बाहिर नै पठाउनुपर्ने भएकाले वर्षको एकमुष्ट ५० हजार रुपियाँ दिने र त्यसपछि सैनिक आवासीय महाविद्यालय भक्तपुरमा निःशुल्क पठनपाठनको व्यवस्था गरिने जानकारी उनले दिए । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।