संघीयता धरापमा परेकोले आन्दोलनका लागि तयार रहनुहोस्ः कांग्रेस उपसभापति निधि

संघीयता धरापमा परेकोले आन्दोलनका लागि तयार रहनुहोस्ः कांग्रेस उपसभापति निधि

दैलेख, १ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देश र जनताका पक्षमा काम गर्न अक्षम कम्युनिष्ट अधिनायकवादी शासन बिरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।

नेपाल प्रेस युनियन दैलेखको चौथो अधिबेशनको उद्घाटन गर्दै उपसभापति निधिले परिबर्तनका उपलब्धीलाई सिध्याउने खेलमा सरकार लागेकोले तिनको रक्षार्थ आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका हुन्।

नेकपाका नेताहरुलाई संघीय शासन प्रणाली मन नपरेकै कारण उनीहरुले प्रदेशलाई अधिकार दिन कन्जुस्याई गरेको उनको भनाई थियो। तल्लो तहमा अधिकार बिकेन्द्रीत गर्नुपर्ने संघीयताको मर्म बिपरित सरकारले सबै अधिकार खोसेर केन्द्रीकृत गरेको निधिले आरोप लगाए। यसबाट संघीयता नै खतरामा परेको उनको भनाई थियो। यसरी एकपछि अर्को गर्दै नजबिरोधी काम गरेपछि संघीयता असफल भयो भन्ने नाममा कम्युनिष्टहरु संबिधान नै सिध्याउने दिशातिर अग्रसर भएको नेता निधिले स्पष्ट पारे।

दुईतिहाईको सरकारले देश र जनताका पक्षमा केही पनि काम गर्न नसकेकोले सरकार पूर्णतः अक्षम भएको उपसभापति निधिको भनाई थियो।
सरकार कञ्चनपुरकी बालिका निर्मला पन्ताका हत्यारालाई जोगाउन लागेको आरोप लगाए। पन्तका हत्यारा आजसम्म पत्ता लगाउन नसक्नु सरकारको सबैभन्दा ठूलो असफलता भएको भन्दै यसलाई उनले सरकारको घिनलाग्दो काम भएको उल्लेख गरे।