अस्पताल विघटनको प्रयास विरुद्ध आन्दोलनको विकल्प छैन– प्रदीप पौडेल

अस्पताल विघटनको प्रयास विरुद्ध आन्दोलनको विकल्प छैन– प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा अमूल्य योगदान दिएका नेपाली कांग्रेसका शीर्ष नेताहरुको नाममा स्थापना भइसकेका अस्पताल विघटन गर्न खोज्ने सरकारी प्रयास विरुद्ध आन्दोलनको विकल्प नभएको बताएका छन् ।

गृह जिल्ला तनहुँबाट राजधानी फर्कने क्रममा कार्यकर्ताहरुलाई निर्देशन दिँदै नेता पौडेलले आफूहरुले तत्काल वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्री केपी ओलीलाई भेटेर कांग्रेसको धारणा जानकारी गराउने बताए । मागको सुनुवाई नभएमा सरकार विरुद्ध केन्द्रबाटै शशक्त आन्दोलन थाल्ने समेत पौडेलले जानकारी दिए ।

नेता पौडेलले सरकारको त्यस्तो प्रयास विरुद्ध स्थानीय स्तरमा प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । त्यस्तै संसदमा सशक्त रुपमा प्रस्तुत हुन नेपाली कांग्रेसका नेताहरु समक्ष उनले आग्रह गरेका छन् ।

सरकारले कांग्रेसका तत्कालीन सभापति एव पूर्वप्रधानमन्त्रीद्वय स्वर्गिय गिरिजाप्रसाद कोइराला र स्वर्गिय सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल हठात् विघटन गर्ने प्रक्रिया अघि बढाएको भन्दै पौडेलले आपत्ति जनाएका हुन् । तत्कालीन सरकारले स्व गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा श्वासप्रश्वास र बाँकेमा सुशील कोइरालाको नाममा क्यान्सर अपस्ताल खोल्ने निर्णय गरी दुबै अस्पताललाई मुलुककै प्रतिष्ठित र सुविधा सम्पन्न बनाउने गरी विस्तारको प्रक्रिया अघि बढाएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका ११ ठूला अस्पताललाई संघीय सरकार मातहत रहने गरी गठन आदेशका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको आफूहरुलाई जानकारी आएको नेता पौडेलले दावी गरे । उनले भने, “तर मन्त्रिपरिषद् बैठकले कांग्रेसका दुबै नेताका नामका बाहेक नौ अस्पताललाई मात्र सदर गरी निर्णय ग¥यो र स्वास्थ्य मन्त्रालयले ती दुबै अस्पताल विघटनको प्रक्रियामा लगेको भन्ने हामीले खबर पायौँ ।”

नेता पौडेलले आफ्नो गृह जिल्ला तनुहँमा आफू लगायत स्थानीय नेताहरुको व्यापक लबिङमा स्वर्गिय नेता गिरिजाप्रसाद कोइराला नाममा राष्ट्रिय स्तरको श्वासप्रश्वास अस्पतालका लागि ७ सय ५० रोपनी जग्गा छुट्याई काम समेत भइरहेको बताए । स्थानीय सेती गंगा सामुदायीक अस्पताललाई समेत उक्त अस्पतालमा गाभेर अहिले दैनिक दुई सयले सेवा लिइरहेको अवस्थामा हठात् अस्पताल विघटन गर्ने तयारी गरेर सरकारले अधिनायकवादी सोच देखाएको उनले आरोप लगाए ।

पौडेलका अनुसार उक्त अस्पतालका लागि बजेट, कर्मचारीको दरबन्दी सहित सरकारी मापदण्दको फार्मेसी समेत सञ्चालनमा आइसकेको छ । प्रतिस्पर्धी पार्टीको जुनसुकै अस्तित्वबाट डराउने वर्तमान सरकारले राजनीतिक सहिष्णुताको न्यूनतम मापदण्ड समेत उल्लंघन गरी देखाइरहेको गैर लोकतान्त्रिक चरित्रको फर्दाफास गर्न पौडेलले अपील गरेका छन् ।