

काठमाडौँ, ३० पुस ।स्वाईन फ्लुको नामले चिनिने एच वान एन वान भाइरसको कारण राजधानीमा केही बिरामीको मृत्यु भएको र दर्जनौको संख्यामा बिरामीहरु विभिन्न अस्पतालमा भर्ना भएको खबर छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
बिषेश गरी जाडोको मौसममा देखापर्ने यो भाइसरका कारण केएमसी, कान्ति, ग्राण्डी अस्पताल र शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना भएका केही बिरामीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।
ती अस्पतालमा भर्ना भएका केही बिरामीको मृत्यु भएको र केही उपचारपछि घर फर्किएका र केहीको अहिले पनि ती अस्पतालमा उपचार रहेको बताइएको छ ।
केहीदिन यता टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा बिरामी कुर्न बसेका कुरुवामा समेत उक्त भाइरस देखापरेपछि अहिले सो अस्पतालले टाइनी फ्लु भ्याक्सिन दिन शुरु गरिएको सो अस्पतालका एक चिकित्सकले जानकारी दिए ।अहिले सो रोगले महामारीको रुप नलिएपनि सोही भाइरसबाट केही ब्यक्तिको मृत्यु भएकाले सतर्कता अप्नाउन थालिएको ती चिकित्सकले जानकारी दिए ।
हाल शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना गरिएका ती बिरामीको परिचय गोप्य राखिएको भएपनि उनको घरमा यस अघि स्वाईन फ्लुका बिरामी रहेको र ती बिरामीको कारण घरका अन्य सदस्यलाई समेत सरेर अस्पताल भर्ना गर्नु परेको बताइएको छ । तीन साता देखि राजधानीमा देखा परेको स्वाइन फ्लु जटिल खालको देखा परेकोले चिकित्सकहरु चिन्तित हुन थालेको समाचारमा उल्लेख छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिएका हौं ।