अब तीन वर्षपछि पुरानो स्वरुपमा भक्तपुर

अब तीन वर्षपछि पुरानो स्वरुपमा भक्तपुर

भक्तपुर, ३० पुस । सर्वसाधारणले आगामी तीन वर्षभित्रै भूकम्प अघिकै पुरानो स्वरुपकै भक्तपुर नगरपालिका देख्न पाउने भएका छन् । भक्तपुर नगरपालिकाले भूकम्पपछिको पुनःनिर्माण कार्यलाई तिब्र पारेको छ ।पुनःनिर्माणको काम सम्पन्न भई साबिककै पुरानो कलात्मक स्वरूपको भक्तपुर नगरपालिका देख्न पाउने भक्तपुर नगरपालिकाको तयारी छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

२०७२ सालको भूकम्पले कलात्मक र मौलिकस्वरूपको भक्तपुर नगरभित्रका अधिकांश संरचना भत्किएका थिए । अहिले भक्तपुर नगरपालिकाभित्र भूकम्प पछिको निजी आवास र सम्पदा पुनःनिर्माण कार्यले गति लिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बढीमा तीन वर्षभित्र साबिकको स्वरूपमा कलात्मक भक्तपुर देख्न पाउने दावी गर्नुभयो ।

नगरपालिकाभित्रका क्षतिग्रस्त केही ठूला सम्पदा बाहेक अन्य सम्पदाहरू छिट्टै निर्माण सम्पन्न हुनेछ । नगरप्रमुख प्रजापतिका अनुसार भैरवनाथको मन्दिरको जीर्णोद्धार भइरहेको छ भने वत्सला मन्दिर ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । त्यसैगरी,केदारनाथ मन्दिरको निर्माण सम्पन्न भएको भने फसीदेवल निर्माण तीब्र गतिमा भइरहेको छ ।सिद्धिलक्ष्मी मन्दिरको भर्खरै पुनःनिर्माण भएकोनगरप्रमुखको भनाइ छ ।

उहाँले थप्नुभयो, ‘पुरानो नगरपालिका भवन, दरबार क्षेत्रमा रहेको कला सङ्ग्रहालय, लाल बैठकजस्ता ठूला सम्पदा पुनःनिर्माणमा अलि बढी समय लाग्नेछ ।’भक्तपुरका पुनःनिर्माण कार्यमा कुनै विदेशी दातृ समुदायको आर्थिक सहयोग छैन ।

उहाँका अनुसार नगरपालिकाकै आन्तरिक स्रोत र स्थानीय जनताको सहयोगमा यहाँका सम्पदाको पुनःनिर्माण कार्य भइरहेका छन् । हालसम्म नगरपालिकाले ३७ वटा सम्पदाको पुनः निर्माण कार्य सम्पन्न गरिसकेको छ भने दर्जनौं सम्पदा निर्माणाधीन अवस्थामा छन् ।
पुरातत्व विभागले पनि कतिपय सम्पदा निर्माण सम्पन्न गरिसकेको छ । कतिपय निर्माणकै क्रममा रहेको भक्तपुर नगरपालिकाले जनाएको छ ।केही समय ढिलै भए पनि भक्तपुर नगरलाई स्थानीय बासिन्दाको सहयोगमा मौलिक शैलीमै निर्माण गर्ने गरी नगरपालिकाले काम गरिरहेको छ ।

सरकारले सहुलियत दरमा सम्पदा पुनःनिर्माणका लागि आवश्यक काठको व्यवस्था र आर्थिक सहयोग गर्ने हो भने साविकको अवस्थामा पुर्याउन सकिने प्रमुख प्रजापतिको दाबी छ ।

नगरपालिकामा निजी आवास पुनःनिर्माणको कामले सोचेभन्दा बढी तिब्रता पाएको बताइएको छ ।भक्तपुर नगरपालिकाले भूकम्प पीडितहरूको घर निर्माणमा माटो जोडाइमा शत प्रतिशत र सिमेन्ट जोडाइमा ५० प्रतिशत नक्सा दस्तुर छुटको व्यवस्था गरेको छ ।

मौलिक शैलीमा घर बनाउनेहरुका लागि भने घरको सडक मोहडातर्फ लाग्ने ईटा, काठ र भिङ्गटीको खर्चमा ३५ प्रतिशत अनुदाननगरपालिकाले दिँदै आएको छ । भक्तपुर नगरपालिकाभित्र मात्रै आंशिक र पूर्ण गरी करिब आठ हजार घरमा क्षति भएका थिए भने ठूला साना गरी १३० भन्दा बढी सम्पदामा क्षति पुगेका थिए । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।