काठमाडौ, २३ पुस । चिकित्सक तथा स्वास्थ्यकर्मी माथि विभेदकारी प्रावधान राखिएको भन्दै सरकारी चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन् । संघीय संरचनाअनुसार समायोजन गर्दा विभेद गरिएको भन्दै उनीहरुले मन्त्रालय घेराउ गरेका हुन् । वीर, कान्ति, शुक्रराज ट्रपिकल, प्रसुतिगृह लगायत अस्पतालका चिकित्सकहरू घेराउमा सहभागी थिए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
चिकित्सकहरुले सोमबारदेखि दैनिक एक घण्टा काम छाडेर विरोधका कार्यक्रम गर्ने घोषणा समेत गरेका छन् । सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले प्रदेश वा स्थानीय निकायमा समावेश हुने चिकित्सकहरूको सेवा, सुविधा, सुरक्षा, सरुवा, बढुवा तथा अन्य वृत्तिविकासको स्पष्ट खाकासहितको प्रादेशिक र स्थानीय निजामती सेवा ऐन निर्माणपछि मात्र समायोजन प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयो ।
समायोजन अध्यादेशअनुसार समायोजन गर्दा चिकित्सकलाई स्वतः एक तह स्तरबृद्धि गर्नुपर्ने उहाँको भनाइ छ । प्रसुति गृहका निर्देशक डा. जागेश्वर गौतमले सरकारी चिकित्सकहरुले राखेको माग जायज भएको भन्दै बाध्यकारी समायोजन सट्टा समायोजन प्रक्रियालाई स्वैच्छिक बनाउनुपर्ने बताउनुभयो । सरकारी चिकित्सकहरुले प्रदेश वा स्थानीयमा समायोजन पश्चात निश्चित अवधिपछि संघमा आउन सक्ने बाटो खुला राख्नुपर्ने माग पनि अघि सारेका छन् । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।