काठमाडौँ, २० पुस । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा इतिहास विषय अध्ययन गर्न चाहने विद्यार्थी नै पाउन छाडेको छ । २०७० सालमा सात जना विद्यार्थी भर्ना भएकोमा २०७१ सालमा छ जना, २०७२ सालमा दुई जना, २०७३ सालमा एक जना र गत २०७४ सालमा शून्य विद्यार्थी रहे । यस वर्ष नयाँ भर्ना खुला भएकोछ, तर विद्यार्थी नआउलान् कि भन्ने चिन्ताले त्रिवि इतिहास केन्द्रीय विभागका प्राध्यापकहरूलाई सताउन थालेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
विभागले विहीबार आयोजना गरेको अन्तरक्रियामा त्रिवि मानविकी तथा समाजशास्त्र संकायका डिन प्रा।डा। शिवलाल भुसालले भन्नुभयो, “विद्यार्थीले जागिर र बजारको मागलाई ध्यान दिँदा मानविकी संकायका धेरै विषयमा पाइन छाडेका छन् ।” उहाँले कतिपय प्राध्यापकको जागिर खाने मानसिकताले पनि कतिपय विषयमा विद्यार्थी घटेको बताउनुभयो ।
मानविकी संकायमा इतिहासबाहेक संस्कृति, हिन्दी, भाषाशास्त्र, बौद्धदर्शन लगायतका विषयमा पनि विद्यार्थी सङ्ख्या खासै छैन । अर्थशास्त्र, अङ्ग्रेजी, ग्रामीण विकास, समाजशास्त्र आदि विषयमा विद्यार्थी सङ्ख्यामा समस्या छैन । त्रिविमा २२ केन्द्रीय विभाग छन् र सो अन्तर्गत ४० विषयमा पठनपाठन हुँदै आएको छ ।
२०६९ सालमा इतिहास विषयमा ९३ जना भर्ना भएका थिए । विद्यार्थीको संख्या बढेपछि प्राध्यापकहरू चकित हुनु भएको थियो । इतिहास केन्द्रीय विभागका प्रमुख डा। शंकर थापाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका कारण पो त्यति विद्यार्थी भर्ना भएको भन्ने कुरा पछि थाहा भयो भन्दै थप्नुभयो, “स्ववियु निर्वाचनपछि कतिपय विद्यार्थी भर्ना रद्द गर्न चाहेको भन्दै रकम फिर्ता माग गर्न आएका थिए । कतिपयले त रुँदै पैसा मागे । पछि १२ जनालेमात्र अध्ययनलाई निरन्तरता दिए ।” यो खबर आजको गारेखापत्र दैनिकबाट लिएका हौं ।