संशोधन दर्ताका लागि अनुमोदन

संशोधन दर्ताका लागि अनुमोदन

काठमाडौँ, २० पुस । प्रतिनिधिसभाले केही नेपाल ऐन संशोधन विधेयकलाई संशोधन दर्ताका लागि अनुमोदन गरेको छ । मौजुदा ५५ ऐन संशोधन र एक ऐन खारेज गर्नेगरी संसद्मा दर्ता भएको विधेयक बिहीबारको बैठकले संशोधन दर्ताका लागि अनुमोदन गरेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ऐनहरूलाई समयानुकुल बनाउन तथा संविधानको भावना अनुसार परिमार्जन गर्न विधेयक ल्याइएको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।

संसद्ले अनुमोदन गरेको विधेयकमा अब सांसद्हरुले संशोधन दर्ता गर्न पाउनु हुनेछ । प्रतिनिधिसभा नियमावली अनुसार सांसद्हरूले ७२ घन्टाभित्र संशोधन दर्ता गर्न सक्नुहुनेछ । संशोधन दर्तापछि विधेयक पुनः संसद्मा पेस हुनेछ ।
विधेयकको छलफलमा भाग लिँदै बिहीबार सांसद्हरु प्रेम सुवाल, दिव्यमणि राजभण्डारी, शेरबहादुर तामाङ, देव गुरुङ, सञ्जय गौतम लगायतले परिमार्जनसहित पारित गर्न सुझाव दिनुभएको थियो । विधेयकका धेरै व्यवस्था समयानुकूल हुन नसकेको भन्दै परिमार्जन गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभएको थियो ।

जवाफका क्रममा मन्त्री ढकालले सांसद्हरुको सुझावलाई समेत ध्यान दिएर विधेयक पारित गर्ने बताउनुभयो । उहाँले विधेयक परिमार्जनका लागि संशोधन लगायतका प्रक्रियामा सक्रिया रुपमा सहभागी हुन पनि सांसद्हरुलाई आग्रह गर्नुभयो ।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले जीवनाशक विषादी व्यवस्थापन विधेयक संसद्मा प्रस्तुत गर्नुभयो । त्यसअघि विधेयक पेसका लागि अनुमति माग्ने प्रस्तावका विरुद्ध सांसद् प्रेम सुवालले दर्ता गर्नुभएको विरोधको सूचना अस्वीकृत भएको थियो । बहुमतका आधारमा सांसद् सुवालको विरोधको सूचना अस्वीकृत भएको थियो । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।