त्रिशूली जलविद्युत केन्द्रको उत्पादन गृहमा आगलागी, उत्पादन बन्द

त्रिशूली जलविद्युत केन्द्रको उत्पादन गृहमा आगलागी, उत्पादन बन्द

नुवाकोट, १९ पुस ।  नुवाकोटमा रहेको त्रिशूली जलविद्युत केन्द्रको उत्पादन गृहमा बुधबार बेलुका आगलागी हुँदा विद्युत उत्पादन बन्द भएको छ ।

२१ मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत केन्द्रसमेत बन्द हुँदा राष्ट्रिय प्रसारणलाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत गिरावट आएको छ ।

बेलुका साढे ६ बजेतिर उक्त उत्पादन गृहबाट उत्पादन भएको विद्युत प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर आगो लाग्दा ब्रेकर नं ६ मा रहेको ६.६ केभीको जेनेरेटर जलेर पूर्णरूपमा क्षति भएको केन्द्रका प्रमुख तारदत्त भट्टले जानकारी दिए ।

उनका अनुसार आगलागीले क्षति पुर्‍याएका उपकरण मर्मत र परिवर्तन गर्न एक करोडभन्दा बढी लाग्ने देखिएको छ भने सञ्चालनका लागि करिब एक हप्ता लाग्ने अनुमान छ ।

उत्पादन गृहमा लागेको आगो नियन्त्रणमा ल्याउन नेपाल विद्युत प्राधिकरणका कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, विदुर नगरपालिकाको दमकलसहित स्थानीय बासिन्दालाई एक घण्टाभन्दा बढी समय लागेको थियो ।

आगलागीका कारण उक्त केन्द्रबाट विद्युत उत्पादन बन्द हुँदा नुवाकोटसहित रसुवा र धादिङका केही स्थानमा विद्युत बन्द भएकाले राष्ट्रिय प्रसारणलाइनमार्फत बुधबार रातिदेखि विद्युत उपलब्ध गराइएको छ । उक्त उत्पादन गृहमा गत असार २६ र मङ्सिर ८ गते पनि आगलागी भएको थियो । रासस