दस प्रतिशतले बढ्यो ट्याक्सीको भाडा

दस प्रतिशतले बढ्यो ट्याक्सीको भाडा

काठमाडौँ, १८ पुस । ट्याक्सीको भाडा दस प्रतिशतले बढेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले हालको भाडामा १० प्रतिशतले वृद्धि गरी भाडा समायोजनको काम गरिरहेको छ । मिटर ट्याक्सीमध्ये झण्डै २५ सय ट्याक्सीमा भाडा समायोजन गरिसकिएको छ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौँ ।

यातायात व्यवस्था विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा भाडा वृद्धि गरेपछि ट्याक्सीमा पनि दस प्रतिशत भाडा वृद्धि गर्ने निर्णय कार्यान्वयन गर्दै नापतौल विभागले भाडा समायोजनको काम गरेको हो । सो अवसरमा ट्याक्सीका मिटर र प्रिन्टर मेसिनको जाँच गरी नयाँ मूल्य समायोजन गरिएको छ ।

दैनिक ८० देखि १०० वटा ट्याक्सीको भाडा समायोजन गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताउनुभयो । पहिला एक किलोमिटरमा ३९ रुपियाँ लिइएको थियो भने अब ४३ रुपियाँ हुनेछ तर तोकिएको भाडादरमा ट्याक्सी सञ्चालन नभइरहेको सरकारी निकायहरूकै गुनासो छ । पुडासैनी भन्नुहुन्छ, ट्याक्सीको मिटर आफैमा समस्या छैन, मिटरमा नजाने बार्गेनिङ गरेर मनोमानी पैसा लिने समस्या छ, यो समस्या ट्राफिक र विभागले हुर्नुपर्छ ।

पुडासैनीका अनुसार बजारमा पाइनेभन्दा दोब्बर मूल्यमा ट्याक्सी किनेर सञ्चालन गरिएका छन् । दस लाखमा पाइने ट्याक्सीलाई १६÷१७ लाखमा कारोबार गरिएको छ । जसले गर्दा यात्रुहरूबाट बढी पैसा लिने गरेको पाइन्छ । पुडासैनी भन्नुहुन्छ, ट्याक्सीलाई जति पनि पैसा तिर्ने वर्ग पनि छ काठमाडौँ, त्यसले गर्दा मिटरमा जान खोज्ने यात्रुहरूलाई समस्या छ, त्यसैले सबैलाई मिटर हिँड्न लगाउनुपर्छ दण्ड सजाय कडा हुनुपर्छ ।

विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेसिनसमेत जडान गरिसकेको छ । नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतमले हालको भाडा समायोजन वैज्ञानिक नभएको बताउनुभयो । वैज्ञानिक भाडा समायोजन गर्नुपर्ने ट्याक्सी व्यवसायीहरूको माग छ ।
हाल उपत्यकामा मात्र ट्याक्सी भाडा समायोजना गरिएको र पछि पोखरालगायतका सहरहरूमा गरिने विभागले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा झण्डै १२ हजार मिटर ट्याक्सी सञ्चालनमा छन् । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौँ ।