सुनुवाई समिति बैठक पर्सिसम्मका लागि स्थगित

सुनुवाई समिति बैठक पर्सिसम्मका लागि स्थगित

काठमाडौं, १५ पुस । संसदीय सुनुवाई समिति बैठक पर्सिसम्मका लागि स्थगित भएको छ । आन्दोलित कर्मचारीले कार्यालय समय भन्दा बढी काम नगर्ने चेतावनी दिएपछि सभापति लक्ष्मणलाल कर्णले बैठक पर्सिसम्म स्थगित भएको घोषणा गर्नुभएको हो ।

बैठक चल्दाचल्दै कर्मचारीले माइकको लाइन काट्न लागेपछि महासचिव मनोहरप्रसाद भट्टराईको आग्रहमा सभापति कर्णले बैठक स्थगित गर्नुभएको हो । बैठक सारिएपछि प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराको अनुमोदन पनि धकेलिएको छ । बैठकमा सांसद सुरेन्द्र पाण्डे र निरु पालले मात्रै धारणा राख्न बाँकी थियो ।

संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले कार्यालय समयभन्दा बढी काम नगर्ने घोषणा अनुसार आफूहरु हिँड्ने जानकारी दिएपछि सभापतिले बैठक स्थगन गर्नुभएको हो । संसद्का कर्मचारी अतिरिक्त काम गरेको भत्ता माग गर्दै आएका छन् । भत्ता नदिए कार्यालय समयभन्दा बढी काम नगर्ने उनीहरुले घोषणा गरेका छन् ।