जेलबाट छुटेपछि हेलिकप्टरमा गृहजिल्ला पुगे मेयर, खुसीयालीमा बिदा

जेलबाट छुटेपछि हेलिकप्टरमा गृहजिल्ला पुगे मेयर, खुसीयालीमा बिदा

रौतहट, १५ पुस । कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय पाएका कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा सर्वोच्च अदालतबाट सफाइ पाएपछि हेलिकप्टर चार्टर गरी शनिबार गृहनगर रौतहट पुगेका छन् । उनी जेलमुक्त भएको खुसियालीमा नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रका सबै विद्यालयमा आइतबार सार्वजनिक बिदा दिइएको छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।

अदालतको सफाइले जेलबाट छुटेलगत्तै उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास पुगेका थिए । शनिबार भने उनी हेलिकप्टरबाट कटहरियास्थित जनता माविको प्रांगणमा उत्रिए । उनलाई नगरवासीले फूलमाला, खादा र दोसल्ला ओढाएर स्वागत गरे ।

उनका साथमा नेकपा नेता तथा सांसद प्रभु साह, प्रदेश सांसद कुन्दन कुशवाहालगायत नेता आएका थिए । त्यसपछि मेयर कुशवाहा कटहरिया डुमरिया र जमुनियामा राखिएको स्वागत सभामा पनि हेलिकप्टर लिएरै पुगेका थिए । उनलाई गाउँमा भव्य स्वागत गरिएको थियो ।

गत वैशाख २७ गते राजधानीबाट पक्राउ परेका कुशवाहालाई सर्वोच्चका न्यायाधीशद्वय शारदा घिमिरे र डम्बर शाहीको इजलासले सफाइ दिएको हो । उनी शुक्रबार ५ बजे डिल्लीबजार कारागारबाट रिहा भएका थिए । झन्डै ९ महिना लामो कारागार बसाइपछि रिहा भएका कुशवाहा शनिबार आफ्नो गाउँ कटहरिया पुगेका हुन् ।

मेयर कुशवाहालाई सर्वोच्चले निर्दोष सावित गरेको खुसियालीमा आइतबार नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रका विद्यालयमा सार्वजनिक बिदा हुनेबारे नगरपालिकाले शनिबार सूचना नै जारी गरेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा विस्तृतमा प्रकाशित छ हामीले यो खबर कान्तिपुरबाट लिएका हौं ।