काठमाडौंं, १४ पुस । ट्रेड युनियन मुभमेन्टसँग सरकार किन डरायो ? प्रश्नको उत्तर खोज्नु पर्ने बेला आएको बताउँदै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले, सामुहिक सौदाबाजीलाई सरकारले शत्रु दृष्टि लगाउनु पर्ने जरुरी नरहेको बताउनुभएको छ ।
शनिबार राजधानीमा सम्पन्न नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघको पहिलो राष्ट्रिय भेलामा बोल्दै नेता सिंहले, सहभागितामा आधारित लोकतन्त्रको सिद्धान्त विपरीत सरकार एकलौटी अघि बढिरहेको बताउनुभयो ।
लोकतन्त्रमा सबैको जीत हुन्छ तर अहिले कसैले जित्ने र कसैले हार्ने स्थिति सृजना भयो, यसको दोष सरकारले लिनु पर्छ कि पर्दैन? नेता सिंहले सरकारलाई प्रश्न गर्नुभयो । लोकतन्त्रमा श्रमिकका कामको सम्मान नगर्ने सरकार भएपछि अन्यायको सृङ्खला शुरु हुने बताउँदै उहाँले नेपाली कांग्रेसले यस्तो हुन नदिने बताउनुभयो ।
कार्यक्रममा ट्रेड युनियन महासंघ नेदरल्याण्ड (एफएनभि) का एशिया प्यासिफिक क्षेत्रीय निर्देशक प्रभु राजेन्द्रले, श्रमिकको पेशागत र औद्योगिक अधिकारको मात्र कुरा गरेर ट्रेड युनियनको जिम्मेवारी पूरा नहुने बताउँदै यसको पूर्णताका लागि उसको सामाजिक र आर्थिक अधिकार तथा समावेशिताको विषयमा पनि कुरा गर्नु पर्ने धारणा राख्नुभयो । नेदरल्याण्डमा फोहोरमा काम गर्ने श्रमिकहरुको ट्रेड युनियनमा १२ लाख सदस्य छन् । आवश्यक प¥यो भने यसले सरकारलाई पूर्ण असफल बनाउने हैसियत राख्छ तर हामी शक्तिको दुरुपयोग गर्दैनौं, किनभने हाम्रो शक्तिका विषयमा सरकार जानकार छ, उहाँले ट्रेड युनियन अभियानका तागतको चर्चा गर्नुभयो ।
ट्रेड युनियनका अगुवा श्रमिकका हरेक समस्यामा सचेत हुनुपर्छ, युएनआइका क्षेत्रीय उपमहासचिव राजेन्द्र आचार्यले — अनौपचारिक क्षेत्रका श्रमिकलाई संगठित गरेर मात्र ट्रेड युनियन दरिलो बन्ने धारणा व्यक्त गर्नुभयो ।
सरकारले सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई नयाँ युगको शुभारम्भ भनेको छ । यो नेपाली कांग्रेस सरकारका पालामा बनेको ऐनका आधारमा आएको कार्यक्रम हो । कार्यक्रममा धारणा राख्ने क्रममा नेपाल ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिला दाहालले कार्यविधि बनाउँदा अहिलेको सरकारले अनौपचारिक क्षेत्रलाई छुटाएको आरोप लगाउनुभयो । अहिलेको ऐनले कुल श्रमिकमध्ये ४ प्रतिशतलाई मात्र समेट्छ, अब भन्नोस्, ९६ प्रतिशत लाभग्राही बाहिर राखेर कसरी नयाँ युग शुरु हुन्छ? उहाँको प्रश्न थियो ।
कार्यक्रममा स्थानीय तह कर्मचारी युनियनका महासचिव रामप्रसाद पौडेलले, सरकार कान नसुन्ने र आँखा नदेख्ने भएको आरोप लगाउनुभयो भने युएनआइ नेपालका अध्यक्ष शंकर लामिछानेले — सबै क्षेत्रका श्रमिकहरुको संगठित शक्तिले मात्र अधिकार प्राप्ति हुने तर्क राख्दै अन्तरसम्बन्ध विकासमा जोड दिनुभयो । कार्यक्रममा कृषि मजदुर श्रमिक संघका अध्यक्ष बिमला गैरे, क्लास नेपालका अध्यक्ष लेखप्रसाद बुर्लाकोटीलगायतका बक्ताले परिपक्व ट्रेड युनियन गतिविधिमा अगाडि बढ्नु पर्ने खाँचो देखाउनुभयो ।
श्रम कार्यालयमा दर्ता र स्थानीय तह कर्मचारी युनियन, नेपालसँगको आवद्धतामा नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघ स्थापना गरिएको हो । औपचारिक र अनौपचारिक क्षेत्रमा रहेर सरसफाइ तथा वातावरणीय सुधारमा काम गर्ने व्यक्ति यसका सदस्य रहनेछन् । यसमा ६ जना पदाधिकारीसहित ११ जनाको कार्यसमिति गठन गरिएको छ । जसको अध्यक्षमा पञ्चबहादुर तामाङ्, उपाध्यक्षमा चित्रकुमार सुनुवार, महिला उपाध्यक्षमा फुलकुमारी अधिकारी, महासचिवमा चन्द्र घिमिरे, सचिवमा श्याम कार्की र कोषाध्यक्षमा रीमा पुजारी हुनुहुन्छ । त्यस्तै सदस्यहरुमा ज्ञानबहादुर राय, शुक्रबाबु पोडे, डम्बरकुमार अधिकारी, सञ्जना पुजारी र ईश्वरी बुढाथोकी हुनुहुन्छ ।