मापसेलगायतका कारबाहीबाट ट्राफिकले १२ करोड उठायो

मापसेलगायतका कारबाहीबाट ट्राफिकले १२ करोड उठायो

काठमाडौं, १४ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको पाँच महीनामा १२ करोड बढी राजश्व सङ्कलन गरेको छ । महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने लगायतका कारवाहीबाट १२ करोड २५ लाख ७७ हजार राजश्व सङ्कलन गरेको हो ।

महाशाखाले एक लाख ८५ हजार चार सय ३६ सवारी साधन कारवाही गरेबापत सो रकम सङ्कलन गरेको हो । ट्राफिक राजश्व उठाउने निकाय नभए पनि सवारी कारवाहीबापत उक्त रकम सङ्कलन भएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले जानकारी दिनुभयो ।

महाशाखाले चालु आर्थिक वर्षमा लेन अनुसाशन पालन नगर्ने १३ हजार आठसय तीन, जथाभावी फुटपाथमा पार्किङ गर्ने ११ हजार एकसय ८१, बढी भाडा लिने चार हजार एकसय ३६ सवारी, मापसे सेवन गरी सवारी चलाउने १३ हजार नौसय सवारी साधनलाई कारवाही गरेको हो ।