

काठमाडौं, १३ पुस । नेपाली कांग्रेसले कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । आजको संसद बैठकमा कांग्रेस सांसद गगन थापाले अध्यादेश फिर्ता लिएर तत्काल संघ, प्रदेश र स्थानीय तहको निजामती सेवा ऐन ल्याउन आग्रह गर्नुभयो ।
आजको संसदको बैठकमा सांसद थापाले लोकतान्त्रिक प्रणाली छिटोछिटो विकास हुने प्रणाली होइन भन्ने सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाउनुभयो । सरकारको बेढंगी कामको पछिल्लो कडी कर्मचारी समायोजन अध्यादेश भएको थापाको तर्क छ ।
सिंहदरबार, प्रदेश, स्थानीय तह सबैतिर कर्मचारी आन्दोलनमा रहेको नेता थापाले बताउनुभयो । देउवा सरकारले बनाएको कर्मचारी समायोजन ऐन कार्यान्वयन नगर्ने भए संघीय निजमती, प्रदेश र स्थानीय तह ऐन र प्रादेशिक लोकसेवा बनाएको भए अहिले समस्या नहुने उहाँको तर्क छ ।
सेवानिवृत हुन लागेको सचिव र केही वरिष्ठ कर्मचारीको स्वार्थमा संसद छलेर अध्यादेश आएको उहाँले बताउनुभयो । अध्यादेशमा विभेद र स्वेच्छातारिता रहेको उहाँले बताउनुभयो । २०४९ साल स्मरण गराउँदै उहाँले अध्यादेश फिर्ता लगेर तीनै तहको ऐन बनाउन आग्रह गर्नुभयो ।