

काठमाडौं, १२ पुस । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले इटालियन कम्पनी सीएमसीले मेलम्ची आयोजनाको काम गर्ने नगर्नेबारे अझै निश्चित नभएको जवाफ दिनुभएको छ ।
संसद्को विकास तथा प्रविधि समितिमा सांसदले उठाएको प्रश्नको आज जवाफ दिँदै उहाँले औपचारिक रुपमा ठेकेदारसँग छलफल गर्न बाँकी रहेको जानकारी गराउनुभयो । सीएमसीबाटै काम गर्ने अन्तिम प्रयास भने जारी रहने उहाँले बताउनुभयो ।
मेलम्ची आयोजनाको साइडमा काम गरिराखेका स्थानीय ठेकेदार पनि सक्षम रहेको भन्दै उहाँले यदि सीएमसीले काम नगरे अन्तिम विकल्प पनि सोचिराखेको बताउनुभयो । पूर्वमन्त्री एवं सांसद टोपबहादुर रायमाझी गलत सूचना दिएर सरकार र मन्त्रीलाई झुक्याउने गरेको भन्दै कर्मचारीलाई दोषरोपण गर्नुभएको थियो ।
सीएमसीले अन्तिम अवस्थामा पुगेर आर्थिक रुपमा टाट पल्टेको घोषणा गर्नुभित्र रहस्य पत्ता लगाउन उहाँले माग गर्नुभयो । पूर्वप्रधानमन्त्री एवं सांसद झलनाथ खनालले मेलम्ची आयोजनाप्रति जिम्मेवार रुपले प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
विकास समितिकी सभापति कल्याणी खड्काले कस्तो निर्देशन दिँदा मेलम्चीको पानी चाँडो आउन सक्छ भनेर मन्त्रीसँग प्रश्न गर्नुभयो । त्यसपछि मन्त्री मगरले आफूहरु जिम्मेवार ढंगले समस्या समाधान गरिराखेकाले आशंका नगर्न आग्रह गर्नुभयो । ९३ प्रतिशत काम सम्पन्न भइसकेकाले अब चाँडै काम सुचारु हुने मन्त्री मगरको भनाइ थियो ।