बन्ने भो नयाँ धरहरा, प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

बन्ने भो नयाँ धरहरा, प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

-राष्ट्रवाणी समाचारदाता-

काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्नुभएको छ । शिलान्यासका क्रममा प्रधनमन्त्री ओलीले इतिहास झल्कने र आधुनिक सुविधासहित धरहरा निर्माण हुने बताउनुभयो ।

पुनर्निर्माण कार्यलाई वातावरणमैत्री बनाउन निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । करिब २ महिना अघि नै काम सुरु भएपनि स्थापना दिवसको अवसर पारेर प्राधिकरणले आज धरहरा निर्माणको औपचारिक सुरुवात गरेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा समेत धरहरा पुनर्निर्माणको सुरुवात गर्नुभएको थियो । तर दातृ निकायले हात झिकेपछि पुनर्निर्माण प्राधिकरणले आफैँ निर्माण सुरु गरेको हो । धरहरा निर्माण जिम्मा रमण जेभीले लिएको छ ।

३ अर्ब ४८ करोड रुपैयांँमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सन् २०२० को अक्टोबर ९ भित्र निर्माण सम्पन्न हुने धरहरा २२ तलाको हुनेछ । भूकम्पले भत्काएपछि बाँकी रहेको भागलाई समेत संरक्षण गर्दै बनाउन लागिएको नयाँ धरहराको क्षेत्रफल ४२ रोपनी रहने छ ।

त्यसमा हालको टक्सार विभाग, गोश्वारा हुलाक र सुन्धाराको क्षेत्रलाई पनि धरहराकै परिसरमा समेटिने योजनामा रहेको छ ।

नयाँ धरहराका डिजाइन केज कन्सुलेट प्रालि र एमआरबी एण्ड एशोसिएट्सले तयार पारेको हो । उक्त डिजाइन अनुसार नयाँ बन्ने धरहरामा जमिनमुनि दुई र जमिनमाथि २२ तला गरी जम्मा २४ तलाको हुनेछ । तर बाहिरबाट हेर्दा ११ तलाजस्तो मात्र देखिनेछ । क्षतिग्रस्त धरहराको ठुटो भागलाई भने माथि छत राख्नुका साथै चारैतिरबाट १० मिलिमिटरको ‘टेम्पर ग्लास’ ले घेरिनेछ ।

नवधरहरामा माथिल्लो भागसम्म पुग्न र ओर्लनका लागि दुई वटा अत्याधुनिक लिफ्ट जडान गरिनेछ । धरहराको अठारौँ तलामा १७ जनासम्म अट्ने सानो थिएटर बनाइनेछ जहाँ धरहराको विगतदेखि वर्तमानसम्मको श्रव्यदृश्य प्रस्तुत हुनेछ । करिब २४५ फिट अग्लो धरहराको सबैभन्दा माथिल्लो भागमा सीसाले घेरिएको ‘भ्यू डेस्क’ निर्माण गरिनेछ जहाँबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिनेछ ।

नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झनामा निर्माण गराउनुभएको धरहरा ११ तलाको थियो । १९९० सालको भुइँचालोले २ तला भत्किएपछि पुनर्निर्माण गर्दा ९ तलामा सीमित हुन पुगेको थियो । त्यसको उचाइ २०३ फिट मात्र थियो । धरहरामा चढ्नका लागि २१३ वटा सिँढी थिए ।

अब सुन्धरामा क्षतिग्रस्त धरहराको ठुटो भाग, अत्याधुनिक नवधरहराको साथै इतिहासलाई जीवन्त राख्ने उद्देश्यसहित अहिले टक्सार कार्यालयमा रहेका नेपाली मुद्रा छाप्ने पुराना मेसिन, गोश्वारा हुलाक कार्यालयमा रहेको पुराना टिकटलगायतका ऐतिहासिक वस्तुहरूको सङ्ग्रहालय समेत निर्माण गरिने प्राधिकरणको योजनामा छ । दुई वर्षभित्र सम्पन्न हुने परियोजनाका लागि करिब ३ अर्ब ४८ करोड (भ्याट र १० प्रतिशत मूल्यवृद्धि) सहित लाग्ने अनुमान गरिएको छ ।

तस्विरः रासस