सङ्घीय संरचनामा भूगोल

सङ्घीय संरचनामा भूगोल

डा. केदार दाहाल

भूगोल ज्ञानको भण्डार हो । यसलाई प्राकृतिक विज्ञान र सामाजिक विज्ञानलाई जोड्ने कडीको रूपमा पनि लिइन्छ । पृथ्वीको परिदृश्य, मानिस, ठाउँ र वातावरणबीचको समष्ठिगत अध्ययन नै भूगोल हो । अर्को शब्दमा भन्नुपर्दा भूगोलमा मानव र वातावरणबीचको अन्तरसम्बन्ध, प्रक्रिया र तिनबाट विकसित ढाँचा र संरचनाको अध्ययन गरिन्छ । भौतिक परिदृश्य र वातावरणको गतिशीलतासम्बन्धी अध्ययन भौतिक भूगोलमा गरिन्छ भने मानव समाज, संस्कृति र अर्थव्यवस्थाको गतिशीलता र त्यसबाट विकसित स्वरूपको बारेमा मानव भूगोलमा अध्ययन गरिन्छ । नक्सा यसको मूल सामग्री हो ।

नेपालमा विद्यालय तहमा भूगोल विषयको अध्ययन हुन थालेको लगभग सय वर्ष भइसक्यो भने राष्ट्रिय नीति निर्माणको तहमा पनि सन् १९३० को दशकदेखि नै भूगोलविद्ले महìवपूर्ण योगदान पु¥याउँदै आएका छन् । नीति निर्माण तथा योजना तर्जुमा कार्यमा भूगोलको अध्ययन, अध्यापन र अनुसन्धानको महìव बढी नै छ । योजना तर्जुमा कार्यमा भौगोलिक अवस्थाको अध्ययन, विश्लेषण, नक्साङ्कन तथा त्यहाँ बसोबास गर्ने समुदायको जीवनयापन पद्धतिको बारेमा अध्ययन, अनुसन्धान गर्न भूगोल विषयको अध्ययन गर्नु अनिवार्यजस्तै हुन्छ । नीति तथा योजना तर्जुमा गर्ने सन्दर्भमा स्थानिक विश्लेषण, अवस्थिति विश्लेषण, सम्भावनाको विश्लेषण, अधारभूत तथ्य–तथ्याङ्कको विश्लेषण, नक्सा, प्रादेशिक तथा क्षेत्रीय योजना, शहरी विकास तथा योजना, जलवायु परिवर्तन तथा त्यसबाट सिर्जित असर, बस्ती विकास योजनाजस्ता महìवपूर्ण क्षेत्रमा भूगोलको ज्ञान हुनु ज्यादै आवश्यक छ ।

नेपाल सङ्घीय ढाँचामा पुनर्संरचना गरिएपछि भने भूगोल विषयको महìव ह्वात्तै बढेको छ । अझ भूगोलमा भौगोलिक सूचना प्रविधि र ‘रिमोट सेन्सिङ’ जस्ता विषयको अध्ययनले अनुसन्धान पद्धतिमा गुणात्मक सुधार भएको देखिन्छ । भौतिक विज्ञानको नयाँ आविष्कार र त्यसबाट समाजमा देखापर्ने समस्याको निराकरणका लागि भौतिक विज्ञानको नजिकमा रहेर सामाजिक विज्ञानको नाताले समस्या समाधानमा नयाँ विचार र विधिहरूको खोजी गर्ने काममा भूगोलजस्ता विषयको महìव धेरै नै हुन्छ । यसै कुरालाई ध्यानमा राखेर विश्वका अधिकांश देशले भूगोल विषयको अध्ययन तथा अनुसन्धानमा जोड दिने गरेका छन् ।

अहिलेका अधिकांश स्थानीय निकाय (गाउँपालिका र नगरपालिका)हरु नयाँ भएका हुनाले नक्साङ्कन तथा तथ्याङ्कको तयारी गर्ने, तिनीहरूको विश्लेषण गर्ने, त्यस्ता नक्सा तथा तथ्याङ्कलाई योजना तर्जुमाको सन्दर्भमा प्रयोग गर्ने, कहाँ प्रयोग गर्नेजस्ता महìवपूर्ण प्रश्नहरु उठ्न थालेका छन् । तिनीहरूको उचित प्रयोग गर्नु पनि चुनौतीका रूपमा रहेको देखिन्छ । योजनाको शुरुवात नै सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको आधार नक्सा (वेस म्याप) तथा अन्य स्रोत नक्साबाट शुरु हुन्छ । त्यस्ता नक्शा भौगोलिक सूचना प्रणालीको प्रयोगबाट बनाइएमा बढी विश्वसनीय हुन्छन् ।

भौगोलिक सूचना प्रणाली भूगोलविद्ले अध्ययन तथा अनुसन्धानकार्यमा प्रयोग गरिने सबैभन्दा महìवपूर्ण साधन हो । यसको प्रयोग योजना तर्जुमा गर्न र तिनीहरूको कार्यान्वयन गर्ने सन्दर्भमा ज्यादै महìवपूर्ण मानिन्छ । आधार नक्सा तयारी तथा अद्यावधिक गर्न, स्रोत नक्सा तयार पार्न, भूउपयोग नक्सा तथा योजना तयार पार्न, बस्ती विकास योजना तयारी, व्यवस्थित शहरी विकास योजना तयारीजस्ता कार्यमा भूगोलको ज्ञान हुनु अति आवश्यक छ ।

यति मात्र हैन प्राकृतिक स्रोत, साधनको वितरण र व्यवस्थापनका योजना तर्जुमा गर्ने सन्दर्भमा पनि भूगोलको अध्ययन गर्नु आवश्यक छ । तसर्थ स्थानीय सरकारले व्यवस्थित योजना प्रक्रिया तथा तिनको कार्यान्वयनमा भूगोलविद्को परामर्श तथा सेवा लिनु गाउँपालिका तथा नगरपालिकाको प्रारम्भिक विकास प्रक्रियामा ज्यादै उपयोगी हुनपुग्छ । भूगोलको ज्ञानबाट स्थानीय परिवेश र मानव बसोबासबीचको अन्तरसम्बन्ध, भौतिक तथा प्राकृतिक विज्ञानका कतिपय क्षेत्रमा धारणा बनाउन पनि मद्दत पुग्छ तर धेरैजसो स्थानीय निकायले यस पक्षलाई उपेक्षा गरेको देखिन्छ ।

हुन त भूगोल विषयको अध्ययन तथा अनुसन्धानमा राज्यले पनि खासै चासो दिएको पाइँदैन । अपर्याप्त प्राविधिक जनशक्ति र भएका प्राविधिक जनशक्तिमा ज्ञानको समसामयकीकरण नहुनाले धेरैजसो स्थानीय निकाय योजना तयार पार्ने र ती योजनाको कार्यान्वयन गर्ने सन्दर्भमा कमजोर देखिएका छन् । कहाँ, कसरी र कहिले योजनाको कार्यान्वयन गर्ने भन्ने कुरामा नै धेरैजसो गाउँपालिका तथा नगरपालिका अलमलिएका छन् । स्थानीय निकायमा देखापरेका यस्ता समस्यालाई सम्बोधन गरी विकास योजनालाई दिगो रूपमा अगाडि बढाउनु अहिलेको मुख्य चुनौती हो । भूगोल नै यस्तो विधा हो, जसले समग्र परिस्थितिको तथ्यगत विश्लेषण गर्दै गाउँपालिका तथा नगरपालिकाको समग्र विकासको लागि मार्गदर्शन गर्न सक्छ ।

तसर्थ, स्थानीय निकायमा भूगोल विषयको ज्ञान भएका विशेषज्ञ, भूगोलविद् वा भौगोलिक सूचना प्रणाली विशेषज्ञको आवश्यता छ । गाउँपालिका तथा नगरपालिकाको योजना तर्जुमा र ती योजनाको सफल कार्यान्वयन गर्ने सन्दर्भमा मानव बसोबास र प्राकृतिक वातावरणको समग्ररूपमा विश्लेषण गर्ने हुनाले अन्य विषयको तुलनामा भूगोल नै महìवपूर्ण हुनजान्छ । यस कुरालाई ध्यानमा राखेर स्थानीय निकाय (गाउँपालिका तथा नगरपालिका)हरूले पनि भूगोल विषयको पठनपाठन गर्ने, गराउने कुरालाई बढी जोड दिनु आवश्यक छ ।

हाल नयाँ–नयाँ विषयको पठनपाठनले विश्वविद्यालयमा ती विषयप्रति विद्यार्थीको चासो बढ्दै जानु, विश्वविद्यालयले सामाजिक विज्ञानका विषयभन्दा पनि भौतिक विज्ञानका विषयको पठनपाठनमा बढी जोड दिनाले स्थानीय विकास, वातावरण तथा योजनाको क्षेत्रमा काम गर्नसक्ने दक्ष जनशक्ति आवश्यक मात्रामा देशभित्र नै उत्पादन हुन सकिरहेको छैन । यति हुँदाहुँदै पनि राज्यले भूगोल विषयको विस्तार र विकासमा खासै ध्यान पु¥याउन सकेको देखिँदैन । तसर्थ राष्ट्रिय शिक्षा नीति/राष्ट्र निर्माणमा भूगोल विषयको महìवलाई सङ्घीय संरचनाको सन्दर्भमा, स्थानीय निकायलाई सक्षम र सबल बनाउनका लागि पनि भूगोल विषयको अध्ययन, अध्यापन र अनुसन्धानमा जोड दिनुपर्छ ।