काठमाडौं, । चेतना अभिवृद्धि केन्द्र (क्याप) नेपालले आयोजना गरेको ‘सत्कार तथा मनोरञ्जन क्षेत्रमा बालबालिकाको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सत्कार तथा मनोरञ्जन क्षेत्रमा क्याप नेपालले गरेको काम उल्लेखनीय भएको बताउनुभयो ।
उहाँले टोखा नगरपालिकाले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण गर्न हरेक वडामा बाल क्लब स्थापना गरेको जानकारी दिनुभयो ।
उपप्रमुख डङ्गोलले महिला तथा बालबालिकामाथि हुने हिंसा स्वीकार्य नभएको बताउँदै महिला आयोगसँगको सहकार्यमा हिंसा रोकथाममा लागेको जानाकारी पनि दिनुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक किरण राणाले प्रहरीले विगत २३ वर्षदेखि महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख फणीन्द्र प्रसाईंले मनोरञ्जन क्षेत्रमा बालबालिकाको प्रयोग बढी हुने गरेको भन्दै यसको रोकथामका लागि प्रहरीले काम गरिरहेको जानकारी दिनुभयो । “पीडित व्यक्ति अदालतमा गएर आफ्नो कुरा प्रष्ट राख्न नसक्दा यस्ता अपराध बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।
महिला आयोगका प्रतिनिधि विमला खड्काले हिंसा घरबाटै शुरुआत हुने भन्दै यसको नियन्त्रणका लागि पनि घरबाटै अभियान चलाउनुपर्ने बताउनुभयो ।
यसैबीच चेतना अभिवृद्धि केन्द्र (क्याप) नेपालले आर्थिक वर्ष २०७४ ७५ को सामाजिक लेखा परिक्षण कार्यक्रम पनि आयोजना गरेको छ । कार्यक्रममा संस्थाले वर्षभरी गरेका सम्पूर्ण कार्यक्रमहरुको विवरणसंगै आर्थिक फेहरिस्ता सार्वजनिक गरिएको थियो ।
क्याप नेपालका कार्यकारी निर्देशक भूपाल ढकालले घरको आर्थिक अवस्था कमजोर भएका कारण कतिपय बालबालिका तथा महिलाहरु मनोरञ्जन तथा सत्कार व्यवसायमा श्रमिककारुपमा काम गर्न बाध्य हुनुपरेको बताउनुभयो । मनोरञ्जनको क्षेत्रमा काम गर्ने कतिपय महिला श्रमिक यौन शोषणको सिकार बन्ने गरेकोमा उनीहरुलाई कसरी सम्मानित जिवन ज्ञापन गराउने बिषयमा क्याप नेपालले विगत १५ वर्षदेखि काम गरिरहेको ढकालले जानकारी दिनुभयो ।
क्याप नेपालले मनोरञ्जन क्षेत्रमा काम गर्ने १५ बालिकाको उद्धार गरी संरक्षण दिँदै आएको संस्थाका कार्यकारी निर्देशक ढकालले जानकारी दिनुभयो ।
मनोरञ्जन क्षेत्रका कार्यरत बालबालिका तथा महिलामाथि यौन हिंसा मात्र होइन, प्रहरीलेसमेत दुःख दिने गरेको पीडितहरुले बताउने गरेका छन् । हेर्दा रंगीन देखिए पनि भित्रभित्र अन्धकारमा जीवन बिताउन बाध्य यस क्षेत्रका बालबालिका एवम् महिलाहरुका बारेमा राज्यले गम्भीर भएर सोच्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताएका थिए । कार्यक्रममा बालबालिका एवम् महिलाहरुले भोग्दै आएका घटना र हक अधिकारमाथी केन्द्रित नाटक पनि मञ्चन गरिएको थियो ।
क्याप नेपालले गरेको एक अध्ययन अनुसार देशभर झण्डै ४ हजार मनोरञ्जन क्षेत्रमा ६० हजार महिला श्रमिक काम गर्ने गरेका छन् । अध्ययनमा काठमाडौँको गोँगबु, कलङ्की, सुन्धारा, ठमेल साथै पोखरा, विराटनगर, नेपालगञ्जलगायत ठूला सहरमा रहेका होटल, रेष्टुराँ, दोहोरी, डान्सबारमा धेरै महिला तथा बालबालिकाहरु श्रमिककोरुपमा काम गरिरहेका छन् ।