सरकारले प्रतिस्पर्धाबिनै किन्याे डेढ अर्बकाे हेलिकप्टर

सरकारले प्रतिस्पर्धाबिनै किन्याे डेढ अर्बकाे हेलिकप्टर

काठमाडौँ, २ पुस । सरकारले भीभीआईपी (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) का लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ । नेपाली सेनाले इटालीमा बनेको १४ सिट क्षमताको ‘अगुस्टा–वेस्टल्यान्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।

उक्त हेलिकप्टर सेनाको हवाई उड्डयन निर्देशनालयले सञ्चालन गर्नेछ । हेलिकप्टर भीभीआईपीको उडानका लागि चौबिसै घण्टा तयारी अवस्थामा (स्ट्यान्डबाई) राखिनेछ ।

दुई साताअघि मुलुकमा आइसकेको उक्त हेलिकप्टर अझै केही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिनेछ । खरिद सम्झौताअनुसार आए/नआएको अध्ययन गरेपछि उक्त हेलिकप्टर सेनाको हवाई उड्डयन निर्देशनालयले बुझेर आफ्ना अरू हेलिकप्टरसँगै राख्नेछ ।

सेनाले खुला प्रतिस्पर्धाको प्रक्रिया नअपनाई सोझै इटालीको उत्पादक कम्पनीसँग वार्ताका माध्यमबाट खरिद सम्झौता गरी हेलिकप्टर किनेको हो । पञ्चायतकाल र बहुदलकालमा तत्कालीन राजाका लागि मात्र उडान गर्ने ‘सुपरपुमा’ हेलिकप्टर थियो । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।

उक्त हेलिकप्टरसमेत सेनाले सञ्चालन गथ्र्यो । यो नयाँ हेलिकप्टर सुपरपुमाजस्तै भीभीआईपीको उडानमा मात्र प्रयोग हुनेछ । सुपरपुमा थोत्रो भइसकेकाले भीभीआईपी उडानका लागि अर्को सुविधासम्पन्न हेलिकप्टर खरिद गर्नुपरेको जानकारी सैनिक स्रोतले दिएको छ ।

सरकारले नेपाली सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीको कारकेडका लागि १४ करोड रुपैयाँमा विलासी गाडी खरिद प्रक्रिया पनि अघि बढाएको छ । राष्ट्रपतिका लागि मात्रै होइन, सुरक्षाका अगुवा र पछुवा गाडीसमेत खरिद गर्न लागिएकाले १४ करोड रुपैयाँ लाग्ने जानकारी स्रोतले दिएको छ ।

संवैधानिक राष्ट्रपतिका लागि त्यति महँगो गाडी खरिद प्रक्रिया अघि बढाइएकोमा चर्को आलोचना भइरहेका बेला सरकारले भीभीआईपीकै लागि भन्दै हेलिकप्टर किनेको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भीभीआईपी उडान गर्न हेलिकप्टर खरिद गरिएको जानकारी दिए । ‘मन्त्रिपरिषदको निर्णयअनुसार भीभीआईपी उडानका लागि अगुस्टा हेलिकप्टर खरिद गरिएको छ,’ भण्डारीले कान्तिपुरसँग भने, ‘राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको उडान गर्न हेलिकप्टर ल्याइएको हो । हेलिकप्टर आइसकेको छ । खरिद सम्झौताअनुसार आए/नआएको अध्ययन भइरहेको छ ।’ अध्ययनबाट खरिद सम्झौताअनुसारको पाइएमा सेनाले उक्त हेलिकप्टर बुझेर लिएर भीभीआईपी उडानका लागि सञ्चालनमा ल्याउने छ ।

अघिल्लो सरकारकै पालामा उक्त हेलिकप्टर ल्याउने निर्णय भएको र अहिले मात्र खरिद भएको जानकारी सैनिक स्रोतले दिएको छ । सेनाको हवाई उड्डयन निर्देशनालयका चालकले उक्त हेलिकप्टरको परीक्षण उडानसमेत गरिरहेको जानकारी स्रोतले दिएको छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।