काठमाडौं, १ पुस । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्रशम्शेर जबराको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
संसदीय सुनुवाइ विशेष समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश जबराविरुद्ध उजुरी दिन भोलिबाट आह्वान गर्ने निर्णय गरेको हो ।
गएको बिहीबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गर्दै सुनुवाइ गर्न समितिलाई पत्राचार गरेको थियो ।
सोही पत्राचारमाथि छलफल गर्दै समितिले भोलिदेखि १० दिनसम्मका लागि प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । जबराविरुद्धको उजुरी भोलिदेखि आह्वान गर्ने निर्णय गरिएको बताइएकोछ ।
उजुरी दिने म्याद सकिएपछि उजुरीको सम्बन्धमा उजुरीकर्तासँग आवश्यक छलफल हुनेछ । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।