काठमाडौं, २९ मंसिर । आजदेखि नेपालमा पनि अन्तर्राष्ट्रिय हवाई उड्डयन यात्रीका लागि निश्चित एकीकरण गर्ने ‘मन्ट्रियल’ महासन्धि लागू हुने भएको छ ।
अन्तर्राष्ट्रिय हवाईयात्रीहरुको सुरक्षाका लागि यो महासन्धि लागू गर्न लागिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । मन्ट्रियल महासन्धि लागू भएपछि नेपालको हवाई क्षेत्र अझ सुरक्षित हुने प्राधिकरणका महानिर्देशक सन्जीब गौतमले जानकारी दिनुभयो ।
महासन्धिमा विमान चढ्दा, ओर्लदा र यात्रामा यात्रुको मृत्यु भएमा वा चोटपटक लागेमा पाउने क्षतिपूर्तिको मात्रा बढाईएको छ । अन्तराष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)को मन्ट्रियल महासन्धि १९९९ मा न्यूनतम् अनिवार्य बिमा दायित्वको रकम सीमा तोकिएको छ ।
जसअनुसार दुर्घटनाबाट यात्रुको मृत्यु,चोटपटक लागेमा एक लाख १३ हजार एक सय एसडीआर अर्थात् एक लाख ५८ हजार ३ सय ४० अमेरिकी डलर पाउनेछन् । महासन्धिले उडान ढिलाइ भएमा क्षतिपूर्ति,व्यागेजको नोक्सानी तथा कार्गो नोक्सानीको क्षतिपूर्ति समेत तोकेको छ । यो महासन्धि अनुमोदन गर्ने नेपाल १ सय ३५ औं राष्ट्र हो ।