काठमाडौंँ, मङ्सिर २९ गते । सर्वोच्च शिखर सगरमाथा आफ्नै शीरमा भए पनि नेपाल आफैले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन । अरूले मापन गरेकै उचाइँलाई आधार मानेको थियो । अब भने नेपाल आफैले सगरमाथाको उचाइ नाप्ने भएको छ । नेपालले मान्ने गरेको सगरमाथाको उचाइ सन् १९५४ मा भारतले गरेको मापन हो । नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको छ । त्यसैगरी सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेको थियो । सबैको मापन फरक फरक निस्किएको थियो । सविता शर्माले लेख्नुभएको यो खबर आजको गोरखापत्र दैनिकबाट साभार गरेका हौं ।
नेपालले आधिकारिक रुपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले मापन गरेको हो । यसैगरी अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टानको भागको मात्र उचाई लिइएको थियो ।
गोरखापत्र दैनिक लेख्दछ–नापी विभागको सगरमाथा उचाई मापन सचिवालयका संयोजक सुशील डङ्गोलले सुरुदेखि भारतको मापनलाई नेपालले आधिकारिक रुपमा प्रयोग गरेको जानकारी दिदै भन्नुभयो, “नेपाल पनि सहभागी भएकोले भारतले नापेको उचाइ आधिकारिक भयो र अन्यमा भने नेपाल सहभागी नभएको हुँदा आधिकारिक मानेनौं ।”
वि.सं. २०७२ को भूकम्पपछि नापी विभागले गरेको सर्भेमा काठमाडौँका विभिन्न ठाउँको उचाईमा परिवर्तन आएको थियो, यसलाई आधार मानेर धेरैले सगरमाथाको उचाइमा पनि परिवर्तन आएको हुनसक्ने अनुमान गरें । विभिन्न सञ्चारमाध्यम र संस्थाहरूले पनि भूकम्पपछि सगरमाथाको उचाई परिवर्तन भएको हुनसक्ने अनुमान गरेको चचौ गर्दै उहाँले सगरमाथाको उचाई पनि मापन गर्नुपर्छ भन्ने आवश्यकताबोध भएको जानकारी दिनुभयो ।
गोरखापत्र दैनिक लेख्दछ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनक जोशीले भारतको सर्भे विभागले नेपालको सिरहा जिल्लाको माडर भन्ने स्थानसम्म नापी गरेर नेपालको नापी विभागलाई तथ्य उपलब्ध गराइदिने जानकारी दिँदै भन्नुभयो,“त्यहाँबाट नापी विभागले उदयपुर हुँदै विभिन्न बिन्दु तय गरी सगरमाथाको नाप निकाल्दैछ, सर्भेयरहरु फिल्डमा छन् ।”
प्रवक्ता जोशीले सगरमाथाको मापन प्राथमिकताका साथ मन्त्रालयले अगाडि बढाएको जानकारी दिँदै भन्नुभयो,“यो त हाम्रो राष्ट्रिय स्वाभिमानसँग जोडिएको कुरा हो, अर्काको नापमा हामी भर पर्नुपर्ने अब अवस्था छैन, त्यसका लागि हामी सक्षम छौं । ”
हाम्रो सगरमाथाबाट अर्बौ रुपियाँं राजस्व उठेको छ, नेपालको भौगोलिक चिनारीका रूपमा रहेको सगरमाथाको उचाईलाई नेपालले नै मापन गर्नसक्छ भन्ने कुरालाई स्थापित गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो,“अन्तर्राष्ट्रियस्तरको विज्ञ बोलाएर छलफल गरी सहमतिका आधारमा अगाडि बढेका हौं ।”
भारतले ट्रेङ्गुलेशन विधिबाट सगरमाथाको मापन गरेको थियो भने अमेरिका र चीनले जिपिएस विधिबाट सगरमाथाको मापन गरेको थियो । ट्रेङ्गुलेशन विधिलाई परम्परागत विधि मानिन्छ भने जिपियस विधिलाई अत्याधुनिक मानिन्छ । नेपालले यी दुवै विधिबाट सगरमाथाको उचाई मापन गर्न लागेको हो ।
अघिल्लो वर्ष माघदेखि सगरमाथाको उचाई मापन गर्नका लागि सर्वेक्षण सुरु भएको हो । भारतको समुद्री सतहदेखि मापन गर्दै सगरमाथासम्मको उचाइ निकाल्न लागिएको हो ।
संयोजक डङ्गालले ट्रेङ्गुलेशन विधिबाट सिरहाको माडरदेखि सोलुखुम्बुको पतालेसम्म सर्भे भइसकेको जानकारी दिँदै भारतबाट माडरसम्मको उचाई प्राप्त हुने बित्तिकै पतालेसम्मको उचाई निस्कने र त्यसपछि पताले डाँडा र छुल्यामु हुँदै पिके हिल स्टेसनको उचाइ निस्कने बताउनुभयो । उहाँले भन्नुभयो,“यसका लागि विभिन्न स्मारक चिह्न खडा गरिसकेका छौँ ।” १२ वटा विन्दुको लेबलिङ गरी त्यसबाट सगरमाथाको उचाइ नापिन्छ । परम्परागत रुपमा भारतले गरेको मापनमा अहिले प्रयोग हुन लागेका १२ वटा विन्दुमध्ये आठवटाको प्रयोग गरिएको थियो ।
जीपीयस विधिबाट विभिन्न स्थानमा जिपियस र ग्राविटी सर्वेक्षण गरिने जानकारी दिँदै संयोजक डङ्गोलले भन्नुभयो,“भूसतहको संरचना(जीईओईडी) र यसको आधारमा समुद्री सतहबाट सगरमाथाको उचाइ निकाल्छौंँ । यस अन्तर्गत १०२ वटा विन्दुको गत आर्थिक वर्षमा जीपीयस सर्वेक्षण गरेका थियौंँ भने यो वर्ष ५४ वटाको भइसकेको छ र जम्मा ३१५ वटा विन्दुबाट सर्वेक्षण गर्ने योजना हो । ”
गत आर्थिक वर्ष २०७४/७५ देखि नै बजेट विनियोजन गरी सगरमाथाको मापन अगाडि बढाइएको हो । दुई वर्षभित्र सगरमाथाको उचाइ मापन गरिसक्ने कार्ययोजनाका साथ नापी विभागले काम अगाडि बढाएको छ । कार्ययोजनाअनुसार अबको एक वर्षपछि सगरमाथाको उचाइ नाप्ने प्रक्रिया सम्पन्न हुनेछ । यो खबर आजको गोरखापत्र दैनिकबाट साभार गरेका हौं ।