काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री एवम् राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले परिषद्को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा सवैधानिक व्यवस्था अनुरुप प्रधामन्त्री ओलीले २०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गर्नुभएको हो ।
त्यसअवसरमा राष्ट्रपति भण्डारीले परम्परागत सुरक्षाका साथै नवीनतम सुरक्षा चुनौतीलाई सामना गर्दै मुलुकको समग्र सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका लागि नीति, निर्माणलगायत सबै व्यवस्थापनका काम गर्न परिषद्का पदाधिकारीलाई सुझाव दिनुभएको छ ।
नेपालको संविधानको धारा २ सय ६६ मा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा सुरक्षा परिषद् रहने व्यवस्था छ ।
प्रतिवेदनमा राष्ट्रिय सुरक्षा परिषद्को ऐतिहासिक पृष्ठभूमि, राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्था, अन्तराष्ट्रिय, क्षेत्रीय र आन्तरिक सुरक्षा परिस्थितिको विश्लेषण गरिएको छ । राष्ट्रिय सुरक्षा परिषद्बाट आर्थिक वर्ष २०७४/७५ मा सम्पादन भएका कार्य र सचिवालयको स्तरोन्नतिका लागि गर्ने प्रयाससमेत प्रतिवेदनमा उल्लेख छ ।