अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि छानबिन गर्न काग्रेसको माग

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि छानबिन गर्न काग्रेसको माग

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न माग गरेको छ । आज प्रेस विज्ञप्ति निकाल्दै कांग्रेसले शेर्पामाथि मानव तस्करीमा संलग्न भनी लागेको आरोपलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने भन्दै छानविन गर्न माग गरेको हो ।

प्रेस विज्ञप्ति निकालेर प्रवक्ता विश्वप्रकाश शर्माले कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी भएकाले राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गनुपर्ने बताउनुभएको हो ।

कांग्रेसले छानबिनका क्रममा दोषी ठहरिएमा तत्काल बर्खास्त गर्ने कदम चाल्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । यसअघि एक टेलिभिजन कार्यक्रममा राजदूत शेर्पाका पूर्व चालक ओङ्छु शेर्पाले मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए । तर, अष्ट्रेलियास्थित दूतावासले भने यसको खण्डन गरेको छ ।