काठमाडाैँ, १९ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रका सबै स्थानीय तहहरुसँग समझदारी गरेर पुनर्निर्माण सम्बन्धी कामको जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले पुनर्निर्माणको कामलाई छिटो र प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहसँग छुट्टा, छुट्टै समझदारी गर्ने निर्णय गरेको हो । भूकम्प प्रभावित ३२ जिल्लाका २ सय ७२ स्थानीय तहमा पुनर्निर्माणका काम भइरहेका छन् । यसअघि, प्राधिकरणले काभ्रेका सबै स्थानीय तहसँग छुटा, छुट्टै समझदारी गरेको थियो ।
बैठकले पुनर्निर्माणको समीक्षा गर्न र स्थानीय तहहरुसँग समझदारी गर्नका लागि प्राधिकरणले मंसीर २१ गतेदेखि भूकम्प प्रभावित क्षेत्रहरुमा समीक्षा कार्यक्रम र पुनर्निर्माण जिल्ला समन्वय समितिको बैठक आयोजना गर्ने निर्णय पनि गरेको छ ।
समझदारीका लागि तयार पारिएको समझदारीपत्रमा नगरपालिका गाउँपालिकामा इन्जिनियर, सब–इन्जिनियर, असिस्टेण्ट सब–इन्जिनियर र डकर्मी आवश्यकता अनुसार खटाउने, प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनर्निर्माणको काममा खटाउने, हाजिरी राख्ने लगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका र गाउँपालिकाको हुने उल्लेख छ ।