

काठमाडौं, १७ मंसिर । आज २७ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले दिवसको अवसरमा आज काठमाडौँमा र्याली सहितका कार्यक्रमको आयोजना गरेको छ । महासंघका अध्यक्ष सुर्दशन सुवेदीले महासंघले पछिल्ला केही वर्षयता अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि दुर्गम गाउँमा गएर उनीहरूलाई आर्थिक तथा सामाजिकरूपमा सशक्त बनाउने कार्यक्रम सञ्चालन गर्दै आए पनि पर्याप्त नभएको बताउनुभयो ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, नीति र कानूनमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा, पुनःस्थापना, सहभागिता र समावेशीकरणलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।
सत्ताइसौँ अन्तर्राष्ट्रिय अपाङग दिवसका उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उहाँले अपाङ्गता भएका व्यक्तिको राज्यप्रदत्त सेवा सुविधा र अवसरलगायत जनलक्षित हरेक कार्यक्रममा समान पहुँच हुनु पर्छ र अरु सरह लाभान्वित हुन पाउनु पर्छमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।