निर्मला प्रकरण: न्यायको माग गर्दै फेरि आन्दोलन घोषणा

निर्मला प्रकरण: न्यायको माग गर्दै फेरि आन्दोलन घोषणा

कञ्चनपुर, १६ मंसिर । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्यायको माग गर्दै नागरिक संघर्ष समितिले फेरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

हिजो महेन्द्रनगरमा बसेको नागरिक संघर्ष समितिको बैठकले चार दिने दबाबमूलक शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको नागरिक समाज कञ्चनपुरका पूर्व–अध्यक्ष नरबहादुर साँउदले जानकारी दिनुभयो । घटना घटेको चार महिना भइसक्दा पनि घटनाको बारेमा सत्य, तथ्य सार्वजनिक नभएको भन्दै दबाब स्वरुप समितिले भोलीदेखि आन्दोलन गर्ने भएको हो ।

शान्तिपूर्ण आन्दोलन अन्तर्गत पहिलो दिन सोमबार र दोस्रो दिन मंगलबार ‘सुदूरपश्चिम’ प्रदेशका ९ वटै जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारमा कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम छ । यस्तै बुधबार टर्च बालेर प्रर्दशन गर्ने, बिहीबार मानव साङ्लो बनाउने कार्यक्रम सार्वजनिक गरिएको छ । न्यायको खोजीमा निर्मलाको परिवार जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारमा गत २५ कार्तिक देखि अनिश्चितकालिन २४ घण्टे धर्नामा छ । यस्तै, स्थानीयले महेन्द्रनगरमा निर्मलाको तस्विर अंकित पोस्टरहरु टाँसेका छन् ।

सरकारले अपराधीलाई पक्राउ गर्न ढिलाइ गरेको र पछिल्लो समय यो विषयमा आवाज उठ्न छोडेकाले पोस्टरहरु टाँसिएको बताइएको छ । महेन्द्रनगर बजारका विभिन्न गल्ली, चोक–चोकमा निर्मलाको तस्विर टाँसिएका हुन् । बजार क्षेत्रका साथै जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारमा पनि तस्बिर अंकित पोस्टरहरु टाँसिएका छन् । ती पोस्टरहरुमा ‘सरकार भेटियो, न्याय भेटिएन’ तथा ‘न्याय दिन ढिलाइ गर्नु न्याय दिन इन्कार गर्नु हो’ भन्ने लेखिएको छ ।