

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेशसभा निर्वाचन अगाडि सार्न नहुने बताएका छन् । उनले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्नुपर्ने धारणा राखेका छन् ।
काठमाडौंमा बिहीबार सम्पादकहरूसँगको छलफलमा अध्यक्ष ओलीले दुवै तहको निर्वाचन एकैपटक गर्न सकिने विकल्पसमेत प्रस्तुत गरे । त्यसका लागि स्थानीय तहको निर्वाचनलाई पछि सारेर दुवै निर्वाचन मंसिरमा गर्नुपर्ने उनको भनाइ थियो ।
‘वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्छ,’ ओलीले भने, ‘यदि एकैपटक गर्ने भए दुवै चुनाव मंसिरमा गरौँ ।’
अब हुने स्थानीय तह र प्रदेशसभा निर्वाचन प्रतिनिधिसभाको निर्वाचनजस्तो हुन नहुने भन्दै उनले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनुपर्नेमा जोड दिए । ‘चुनाव फ्रि एन्ड फेयर हुनुपर्छ । अस्तिको जस्तो हुँदैन,’ उनले भने ।
अध्यक्ष ओलीले सरकारसँग झन्डै दुईतिहाइ समर्थन रहेको भन्दैमा मनपरी गर्न नपाइने चेतावनीसमेत दिए । संसद् छलेर अध्यादेश ल्याउने प्रवृत्ति उचित नभएको उनको भनाइ थियो ।
‘यो सरकार दुईतिहाइको होइन, यो पनि बहुमतको सरकार हो । झन्डै दुईतिहाइ भन्नु र दुईतिहाइ भन्नु उस्तै होइन,’ ओलीले भने, ‘दुईतिहाइ छ भनेर जे पायो त्यही गर्न पाइँदैन । संसद् छल्ने, अध्यादेश ल्याउने होइन ।’