

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १०.८९ अंकले घटेको छ । यो गिरावटसँगै नेप्से परिसूचक २ हजार ६३६ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ८.६६ अंकले बढेको थियो ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ६ अर्ब १४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ ।
आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बिहीबार लगानी समूहको सूचक मात्रै बढेको छ । उक्त समूहको सूचक ०.७२ प्रतिशतले वृद्धि हुँदा अन्य सबै समूह घटेका छन् ।
बैंकिङ समूह ०.९३ प्रतिशत, विकास बैंक ०.४८ प्रतिशत, फाइनान्स ०.४१ प्रतिशत, होटल तथा पर्यटन ०.६२ प्रतिशत, जलविद्युत् ०.०९ प्रतिशत, जीवन बीमा ०.३४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१८ प्रतिशत, निर्जीवन बीमा ०.४२ प्रतिशत, अन्य समूह ०.१३ प्रतिशत र व्यापार समूह १.५२ प्रतिशतले घटेका छन् ।
युनिक नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै बढ्यो
बिहीबार युनिक नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.८८ प्रतिशतले बढेको छ । त्यस्तै, गार्डियन माइक्रोलाइफको ४ प्रतिशत, हाथवे इन्भेस्टमेन्टको ३.९८ प्रतिशत र एपोलो हाइड्रोपावरको ३.०२ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
यता, एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ४.६० प्रतिशतले घटेको छ । सर्वोत्तम पेन्ट्स र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३.४८ प्रतिशत तथा जनउत्थान सामुदायिक लघुवित्तको ३.४१ प्रतिशतले मूल्य घटेको छ ।
कारोबारमा यी कम्पनी अगाडि
कारोबार रकमका आधारमा बिहीबार हिमालय ऊर्जा विकास कम्पनी सबैभन्दा अगाडि रहेको छ । त्यसपछि क्रमशः पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, साहस ऊर्जा, ग्लोबल आईएमई बैंक, हाथवे इन्भेस्टमेन्ट र कुमारी बैंक रहेका छन् ।