

सहमतिअनुसार काठमाडौं–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी बनाउने प्रक्रिया अघि बढाइनेछ। यसअघि उक्त मार्ग प्रयोग गरी भैरहवाबाट उडान तथा अवतरण गर्दा व्यावहारिक कठिनाइ हुँदै आएको थियो। दुईतर्फी सञ्चालनको व्यवस्था कार्यान्वयनमा आए विमान कम्पनीलाई थप विकल्प उपलब्ध हुनुका साथै अन्तर्राष्ट्रिय उडान सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।
यद्यपि, सहमति कार्यान्वयनका लागि प्राविधिक पक्ष, उडान सञ्चालन प्रक्रिया र आवश्यक व्यवस्थापनबारे थप छलफल गर्नुपर्नेछ। त्यसैले सहमति हुँदैमा तत्काल नियमित उडान सुरु हुने अवस्था भने नरहेको सरोकारवालाको भनाइ छ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले हवाई मार्ग दुईतर्फी बनाउने सहमतिलाई भैरहवा र समग्र लुम्बिनी क्षेत्रको आर्थिक विकाससँग जोडेर हेर्नुपर्ने बताए। अन्तर्राष्ट्रिय उडान विस्तार हुँदा पर्यटन, उद्योग, व्यापार र होटल व्यवसायमा प्रत्यक्ष प्रभाव पर्ने उनको भनाइ छ। विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके यस क्षेत्रको आर्थिक गतिविधि थप चलायमान हुने उनले अपेक्षा गरे।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्ष सागर अधिकारीले हवाई पहुँच विस्तारले लुम्बिनी आउने विदेशी पर्यटकको आवागमन सहज बनाउन सक्ने बताए।
भारतका विभिन्न सहरबाट पर्यटकलाई भैरहवा हुँदै लुम्बिनी ल्याउन सकिने सम्भावना बढ्ने उनको भनाइ छ। विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन उडान सेवा, पर्यटकीय प्याकेज र यातायात व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्ने उनले बताए।
लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक सुरज घिमिरेले हवाई मार्ग विस्तारलाई लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटनसँग जोडेर हेर्नुपर्ने बताए। उनका अनुसार बुद्धको जन्मस्थल लुम्बिनीलाई भारतका बोधगया, सारनाथ, कुशीनगर र श्रावस्तीजस्ता बौद्धस्थलसँग जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न सकिन्छ।
भैरहवा विमानस्थलबाट उडान विस्तार हुन सके नेपाल आउने पर्यटकलाई लुम्बिनीसँगै कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामजस्ता ऐतिहासिक तथा पुरातात्त्विक स्थलसम्म पुर्याउन सहज हुनेछ। यसबाट पर्यटन व्यवसायका साथै स्थानीय होटल, यातायात, कृषि र अन्य सेवा क्षेत्रमा रोजगारी तथा आम्दानीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै लुम्बिनीलाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने अपेक्षा गरिएको थियो। तर, नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा देखिएका चुनौतीका कारण विमानस्थलले अपेक्षित गति लिन सकेको छैन। यस्तो अवस्थामा नेपाल–भारतबीच भएको पछिल्लो सहमति कार्यान्वयनमा आए भैरहवा विमानस्थलको उपयोगिता बढ्नुका साथै लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।