देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज, रोज राणा सर्वसम्मत बनाउने तयारी

देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज, रोज राणा सर्वसम्मत बनाउने तयारी
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । दाङको देउखुरीमा हुने अधिवेशन निवर्तमान सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । गएको शनिबार मंसिर ५ गते गण्डकी प्रदेशबाट सुरु भएको प्रदेश अधिवेशन आज लुम्बिनीमा हुन लागेको हो । गण्डकी प्रदेश अधिवेशन पनि देउवाले नै उद्घाटन गरेका थिए ।

अधिवेशनमा सहभागी हुन देउवासँगै नेताहरू शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, एनपी साउद, प्रकाशशरण महत, मोहन बस्नेतलगायत लुम्बिनी आउने कार्यक्रम छ । अधिवेशनमा प्रदेशका १२ जिल्लाबाट २ हजार २०० भन्दा बढी प्रतिनिधि सहभागी हुने नेता सरोज थापा (रोज राणा)ले जानकारी दिए ।

अधिवेशनमा ५२ प्रदेश निर्वाचन क्षेत्रबाट २१ जनाका दरले १ हजार ९२ प्रतिनिधि, प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले ९१० प्रतिनिधि, प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, प्रतिनिधिसभाका क्षेत्रीय सभापति, स्थानीय तहका सभापति तथा निर्वाचित प्रमुख र उपप्रमुखलगायत सहभागी हुनेछन् ।

‘विधि र विधानमा चलेको आधिकारिक कांग्रेस हामी नै हौं,’ राणाले भने, ‘१४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवाले १५औं महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्छु भन्नुभएको छ । यो नियमित महाधिवेशन नै कांग्रेसको आधिकारिक महाधिवेशन हो ।’

अधिवेशन उद्घाटनअघि देउखुरीका विभिन्न क्षेत्रबाट सांस्कृतिक झाँकीसहित र्‍याली निकालिनेछ । उद्घाटन सत्रपछि बन्दसत्रबाट नयाँ कार्यसमिति चयन गरिने कार्यक्रम छ । प्रदेश अधिवेशनबाट सभापति, दुई उपसभापति, दुई खुला महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री चयन हुनेछन् ।

प्रदेश सभापतिका लागि अहिले प्रदेश संयोजक रहेका दाङका गेहेन्द्र गिरी, लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा युवा नेता रोज राणा र प्रदेश योजना आयोगका पूर्वसदस्य रुपन्देहीका डा. दामोदर भुसाल आकांक्षी छन् । तीन जना आकांक्षी भए पनि प्रदेश संयोजकलाई केन्द्रमा लगेर प्रदेश सरकारमा रहँदा प्रभावकारी भूमिका निर्वाह गरेका रोज राणालाई सर्वसम्मत बनाउने गरी नेतृत्वले तयारी गरिरहेको बताइएको छ ।

देउवा समूहले प्रदेशका १२ जिल्लामध्ये रूपन्देही र पाल्पाबाहेक अन्य जिल्लाको नेतृत्व टुंगो लगाइसकेको छ । प्यूठानमा देवेन्द्र बर्मा, रोल्पामा मानबहादुर खत्री, अर्घाखाँचीमा बाबुराम पौडेल, दाङमा गोपालराज शर्मा, कपिलवस्तुमा राजेश सिंह, बर्दियामा जग्गाप्रसाद पाण्डे, बाँकेमा प्रमोद श्रेष्ठ, पश्चिम नवलपरासीमा गोपी पुन, गुल्मीमा बेदबहादुर थापा मगर र रुकुम पूर्वमा दत्त बस्नेत सभापति चयन भएका छन् ।

रूपन्देहीमा गुनाखर भुर्तेल र पाल्पामा माधव नेपालको नेतृत्वमा पनि करिब समझदारी भएको बताइएको छ । नेता डा. दामोदर भुसालले पछिल्लो घटनाक्रमले कांग्रेस अवैधानिक ढंगले कब्जा गरिएको स्पष्ट भएको दाबी गर्दै आधिकारिक कांग्रेस आफूहरू नै भएको पुष्टि भएको बताएका छन् । उनले आफू पनि प्रदेश सभापतिको आकांक्षी रहेको संकेत गरेका छन् ।

देउवाका पूर्वसारथिहरू पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भरतकुमार शाह, देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर भने अहिले सभापति गगन थापातर्फ लागेका छन् । लुम्बिनीपछि मंसिर १३ गते कर्णाली, १४ गते मधेश, १५ गते सुदूरपश्चिम, १७ गते कोशी र १९ गते बागमती प्रदेश अधिवेशन गर्ने देउवा पक्षको कार्यतालिका छ ।

देउवा पक्षले १५औं महाधिवेशन सम्पन्न गरी पार्टीको आधिकारिकता प्राप्त गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखेको छ । रूख चिह्न प्राप्त गर्नु मुख्य एजेण्डा बनाउँदै देउवा पक्ष महाधिवेशनमा होमिएको छ । देउवा समूहले प्रदेश अधिवेशन सम्पन्न गरेपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औं महाधिवेशन गर्ने पूर्वनिर्धारित कार्यतालिका बनाएको छ ।