

काठमाडाैं । चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन, हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल । प्रकृतिका यी अनुपम छटाले दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई स्वर्गको सुन्दर टुक्राजस्तै बनाएको छ । अपी, नाम्पा, कापुचुली र बबई हिमालले घेरिएको यो भूगोलले आगन्तुकलाई प्रकृतिको मौन सङ्गीत सुनाउँछ ।
समुद्री सतहबाट सात हजार १३२ मिटर उचाइमा रहेको सुदूरपश्चिमकै अग्लो चुचुरो अपी हिमाल यस क्षेत्रको मुख्य आकर्षण हो । तीन हजार ९०० मिटर उचाइमा अवस्थित आधार शिविरबाट हिमशृङ्खलाको भव्य स्वरूप नजिकैबाट नियाल्न सकिन्छ । विशाल पाटन, नीलो ताल, हिमनदीबाट निसृत जलधारा र दुर्लभ वनस्पतिले यस क्षेत्रको प्राकृतिक सुन्दरता थपेका छन् ।
यहाँ पुग्नु आफैँमा रोमाञ्चक यात्रा हो । मार्मा गाउँपालिका हुँदै मकरीगाडसम्म जीपमा पुगेपछि करिब दुई दिन पदयात्रा गर्नुपर्छ । कठिन उकालो, भिरालो गोरेटो र नदी किनार हुँदै अघि बढ्दा यात्रीले हिमाली भूगोलका विविध रूप देख्न पाउँछन् । लामो यात्रा पार गरेर आधार शिविर पुग्दा यात्राको थकान हिमालको मनमोहक दृश्यमा हराउँछ ।
कालीढुंगा, बयेली ताल, धर्मी तथा मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गमस्थल र फराकिला पाटन यस क्षेत्रका प्रमुख आकर्षण हुन् । प्राकृतिक सम्पदासँगै धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका स्थलले यहाँको पर्यटकीय सम्भावना थप बढाएका छन् ।
गर्मीयाममा रंगीचंगी फूलले ढाकिने पाटन पर्यटकका लागि मात्र होइन, स्थानीयको जीविकोपार्जनका लागि पनि महत्त्वपूर्ण छ । यहाँ यार्सागुम्बा, पाँचऔँले, पदमचाल, हत्वाजडी, बायुजडी र जटामसीलगायत बहुमूल्य जडीबुटी संकलन गरिन्छ । भेडा, च्याङ्ग्रा र चौँरी चराउने परम्परागत थलोका रूपमा समेत यो क्षेत्र परिचित छ ।
अपी हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा यस क्षेत्रलाई आधुनिक पर्यटन अर्थतन्त्रको बलियो आधार बनाउने योजनामा छन् । पर्यटकीय गतिविधि बढाउन सके स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना हुने उनको विश्वास छ ।
सामुदायिक घरबास (होमस्टे), स्थानीय यातायात, पदयात्रा गाइड, भरिया, होटल तथा खाद्य सेवामा स्थानीयको सहभागिता बढाउने तयारी गरिएको उनले बताए । यसका लागि आवश्यक जनशक्तिलाई पटक–पटक तालिम दिइएको छ ।
‘हामीले पालिकाका धेरै जनालाई पर्यटन अर्थतन्त्र विस्तारमा स्थानीयको भूमिकाबारे विभिन्न क्षेत्रका जनशक्तिलाई तालिम दिएर तयार पारिसकेका छौँ,’ अध्यक्ष बोहराले भने । चालु आर्थिक वर्षमा आधार शिविर क्षेत्रमा १० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गाउँपालिकाको लक्ष्य छ । ‘अहिलेको तयारीअनुसार अपेक्षित सङ्ख्यामा पर्यटक आउँछन् भन्ने विश्वास छ,’ उनले भने ।
बोहराका अनुसार अहिले मुख्य समस्या सञ्चार नेटवर्क र इन्टरनेटको हो । अन्य पूर्वाधार तयार भइसकेको उनको दाबी छ । ‘यहाँका मानिसको मौलिकपन नै ठूलो सम्पत्ति हो । आउने पर्यटकले कुनै समस्या भोग्नुपर्दैन । अहिलेलाई पुग्ने आवश्यक काम गरिसकेका छौँ । थप आवश्यकताअनुसार पूर्वाधार थपिन्छ,’ उनले भने ।
अपी हिमालको पहिचान प्राकृतिक सुन्दरतामा मात्र सीमित छैन । यहाँको वेशभूषा, रीतिरिवाज, लोकबाजा, देउडा र परम्परागत ज्ञान उत्तिकै महत्त्वपूर्ण छन् । घुसास्थित गैरा इको रिसोर्टका सञ्चालक महादेव धामी स्थानीय संस्कृति जोगाउँदै पर्यटकलाई आतिथ्य प्रदान गर्न आफूहरू सक्रिय रहेको बताउँछन् । गाउँपालिकाबाट प्राप्त तालिमपछि पाहुनाको खानपान, आवास र स्वागत सत्कारमा थप सहज भएको उनको भनाइ छ ।
गाउँपालिकाले मकरीगाडदेखि आधार शिविरसम्मका विभिन्न स्थानमा होमस्टे सञ्चालनको व्यवस्था मिलाएको छ । धनबोरा, घुसा, नाली, लामामाडौँ, आरूखोर, सिती, खायाकोट, छिरछिरे, सिमार, भल्याखोला र धौलीओडारमा पर्यटकका लागि आवास सुविधा उपलब्ध छ ।
आधार शिविर क्षेत्रमा पुगेका पाहुनाका लागि दैनिक ७० जनालाई पुग्ने स्थायी होटल तथा ठूला टेन्टको व्यवस्था गरिएको छ । व्यक्तिगत रूपमा टेन्ट बोकेर जाने पर्यटकलाई पनि असहज नहुने व्यवस्था मिलाइएको छ ।
मकरीगाडदेखि आधार शिविरसम्म ३४ किलोमिटर दूरी भए पनि तीनदेखि पाँच किलोमिटरको अन्तरमा बनाइएका होमस्टेले यात्रीलाई सहज बनाएका छन् । स्थानीय मौलिकता र आत्मीय व्यवहार यहाँको आतिथ्यका विशेषता हुन् । होमस्टेमा फूलमालाले स्वागत गर्ने, सांस्कृतिक पहिचान झल्किने नाच देखाउने र स्थानीय परिकार खुवाउने परम्पराले पाहुनालाई आकर्षित गर्छ ।
दोलखाको बिगु गाउँपालिकाकी उपाध्यक्ष देवकी थामीले यहाँको आतिथ्य सत्कारको प्रशंसा गरिन् ।
‘सुरुमै फूलमालाले स्वागत गरिन्छ । सांस्कृतिक पहिचान झल्किने गरी स्थानीय नाच प्रस्तुत हुन्छ । बास र खानपिनमा तारे होटलको कमी महसुस हुँदैन । त्योभन्दा मीठो यहाँका मानिसको बोली, व्यवहार हो । यही सम्पत्तिले पर्यटकलाई अपिहिमाल नजिक्याउँछ,’ उनले भनिन् ।
पर्यटनलाई संस्कृति संरक्षणसँग जोड्न सके मौलिक पहिचान नयाँ पुस्तासम्म पुर्याउन सकिने थामीको विश्वास छ । गाउँपालिकाको पर्यटन विभाग हेर्ने बिसन बुढाथोकीका अनुसार आधार शिविरसम्म भरपर्दो सञ्चार सेवा विस्तार, प्राथमिक उपचार सामग्रीको व्यवस्था, तालिमप्राप्त जनशक्ति परिचालन र आपत्कालीन उद्धार प्रणाली विकासको काम भइरहेको छ ।
अपी हिमाल धार्मिक आस्थाको केन्द्र पनि हो । यहाँको फेदबाट उदाउने चमेलिया नदीलाई भगवान् शिवको शिरबाट प्रवाहित गङ्गाको स्वरूप मान्ने जनविश्वास छ । खायाकोटका झलकसिंह लोथ्यालका अनुसार क्षेत्ती र घाजिरमा सुर्मा भवानीप्रतिको श्रद्धा, सुर्मा सरोवरको तीर्थ परम्परा तथा मार्कण्डेय र धर्मी गुफाले यस क्षेत्रको धार्मिक पहिचानलाई समृद्ध बनाएका छन् । शिरमा शिव भएकै कारण स्थानीय मन्दिरको आध्यात्मिक महत्त्वसमेत थपिएको उनको बुझाइ छ ।
अपी हिमाल प्रकृतिको उपहार मात्र नभई आस्थाको प्रतीक पनि भएको उनले बताए ।
भूमिराज पिठातोली/रासस