उपसचिवसहित १२ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

उपसचिवसहित १२ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं, ११ मंसिर । कम्पनी रजिस्ट्रार कार्यालयका दुई उपसचिवसहित १२ जनालाई ७० करोड बराबरको सेयर नामसारीमा कीर्ते गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

अख्तियारले आज विशेष अदालतमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिको सेयर नामसारीमा कीर्ते भएको भन्दै अख्तियारले कम्पनी रजिस्ट्रार कार्यालयका उपरजिस्ट्रार (उपसचिव) गंगाधर पौडेल र धर्मराज रोकायालाई मुख्य अभियुक्तको रूपमा मुद्दा दायर गरेको हो ।

भदौ २१ गत केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शंकर इलेक्ट्रिकको सेयर बेचबिखनमा कीर्ते कागजपत्र बनाउन सघाउने कम्पनी रजिस्ट्रारको कार्यालयका अधिकृत, सहायक रजिस्ट्रारसहित १२ जनालाई पक्राउ गरेको थियो ।

तत्कालीन समयमा फरार उपसचिवद्वय असोज ११ गते पक्राउ परेका थिए । अख्तियारले उपरजिस्ट्रारसहित सहायक रजिस्ट्रार नारायणप्रसाद पोखरेल, कर्मचारीहरु जितबहादुर मगर, उमेशमान जोशी, कम्प्युटर अपरेटर आशिष महर्जन र पुष्पकला राईसमेतलाई विपक्षी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारको आरोपपत्रमा राष्ट्रसेवक कर्मचारीहरूसँग मिलेमतो गरी मतियारको भूमिका निर्वाह गरेको भन्दै जितबहादुर मगर, राजनप्रसाद लम्साल, पुण्यप्रसाद खरेल, निरजकुमार मानन्धर र प्रकाशविक्रम मिश्रलाई पनि भ्रष्टाचार मुद्दा दायर गरिएको उल्लेख छ ।