तीन दिनपछि हरियो बन्यो नेप्से, कारोबार रकम घट्यो

तीन दिनपछि हरियो बन्यो नेप्से, कारोबार रकम घट्यो
काठमाडौं । लगातार तीन कारोबार दिन घटेको शेयर बजार बिहीबार सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ३.६२ अंकले बढेर २ हजार ६२८.६७ विन्दुमा पुगेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ०.७८ अंक, फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंकले बढेको छ।

नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। बुधबार ४ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ३ अर्ब ८७ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ। यस दिन ३४७ कम्पनीका ९४ लाख ३७ हजार कित्ता शेयर ४० हजार ८३७ पटकको कारोबारमा किनबेच भएका छन्।

कारोबारमा बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको शेयरमूल्य ६ प्रतिशतले बढेको छ। बोटलर्स नेपाल (तराई) को शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको करिब ५ प्रतिशतले बढेको छ।

यसको विपरीत एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.४५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको १६ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गर्दैछ।

त्यस्तै, पिपुल्स हाइड्रोपावरको १५ करोड रुपैयाँभन्दा बढी र सेन्ट्रल फाइनान्सको साढे १२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा रहेका १३ उपसमूहमध्ये पाँचको परिसूचक बढेको छ भने आठवटाको घटेको छ। होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.२९ प्रतिशतले बढेको छ। बैंकिङ, वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहमा पनि सामान्य सुधार देखिएको छ।