भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

काठमाडौं । दुई दिने औपचारिक भ्रमणमा नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीबार बिहान प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ।

बुधबार काठमाडौं आइपुगेका विदेश सचिव मिश्रीले आफ्नो भ्रमणका क्रममा उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएका हुन्। प्रधानमन्त्री शाहसँगको भेटमा उनले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार तथा सांस्कृतिक सम्बन्धका विविध पक्षमा सकारात्मक छलफल भएको थियो।

दुई देशबीचका बाँकी विषयमा समझदारी निर्माण गर्न र उच्चस्तरीय संवादलाई निरन्तरता दिन भारतीय विदेश सचिवको यो भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ।