बीमा प्राधिकरणको नेतृत्वमा राजनविक्रम थापा, सुशासन कायम गर्नु मुख्य चुनौती

बीमा प्राधिकरणको नेतृत्वमा राजनविक्रम थापा, सुशासन कायम गर्नु मुख्य चुनौती

काठमाडौं । नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. राजनविक्रम थापालाई नियुक्त गरेको छ। केन्द्रीय बैंकमा करिब तीन दशक काम गरेको अनुभव र संस्थागत सुशासनसम्बन्धी विद्यावारिधि हासिल गरेका थापासामु अब बीमा कम्पनीहरूमा सुशासनको प्रभावकारी अभ्यास स्थापित गर्ने प्रमुख चुनौती छ।

एक वर्षभन्दा लामो समयपछि प्राधिकरणले चार वर्षे पूर्ण कार्यकालका लागि अध्यक्ष पाएको हो। योग्यता सम्बन्धी विवादका कारण तत्कालीन अध्यक्ष शरद ओझा २०८२ भदौ २ गते पदमुक्त भएपछि प्राधिकरण विभिन्न मन्त्रालयका सहसचिवहरूको नेतृत्वमा सञ्चालन हुँदै आएको थियो। तत्कालीन एमाले–कांग्रेस गठबन्धन सरकारले २०८१ फागुन १२ गते ओझालाई अध्यक्ष नियुक्त गरेको थियो।

नवनियुक्त अध्यक्ष थापासँग नेपाल राष्ट्र बैंकमा करिब तीन दशक काम गरेको अनुभव छ। उनले केन्द्रीय बैंकमा बैंकिङ नियमन तथा सुपरिवेक्षण, जोखिम व्यवस्थापन, कर्पोरेट योजना, नीति कार्यान्वयन र संस्थागत सुशासनका क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हालेका छन्।

अध्यक्ष नियुक्त हुनुअघिसम्म उनी राष्ट्र बैंकको कर्पोरेट योजना तथा जोखिम व्यवस्थापन विभागमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। त्यसअघि गभर्नरको कार्यालय, वित्तीय संस्था सुपरिवेक्षण विभाग र बैंक सुपरिवेक्षण विभागमा वरिष्ठ नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

उनले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड तथा निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति र लगानी समितिमा सदस्यका रूपमा समेत काम गरेका छन्। यसबाट उनलाई बोर्डस्तरीय सुशासन र वित्तीय संस्थाको सञ्चालनसम्बन्धी अनुभव प्राप्त भएको छ।

शैक्षिक रूपमा पनि थापाले व्यवस्थापन, अर्थशास्त्र र कानुनलगायत विषयमा उच्च शिक्षा हासिल गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमफिल, अर्थशास्त्रमा स्नातकोत्तर, एमबीए र कानुनमा स्नातक (एलएलबी) गरेका छन्। विद्यावारिधि भने भारतको सिंघानिया विश्वविद्यालयबाट हासिल गरेका हुन्। उनको शोधग्रन्थ नेपाली बैंकहरूमा जोखिम व्यवस्थापनमा संस्थागत सुशासनको प्रभाव विषयमा केन्द्रित छ।

वित्तीय स्थिरता, बेसल फ्रेमवर्क र नियमनसम्बन्धी विषयमा उनले अमेरिका, बेलायत, स्विट्जरल्यान्ड, फ्रान्स, जापान र दक्षिण कोरियालगायत मुलुकमा आयोजित अन्तर्राष्ट्रिय तालिम तथा सेमिनारमा सहभागिता जनाएका छन्। बैंकिङ तथा व्यवस्थापनसम्बन्धी उनका पुस्तक र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धानमूलक लेख प्रकाशित छन्।

लामो समयको केन्द्रीय बैंकिङ, नियमन, सुपरिवेक्षण र संस्थागत सुशासनसम्बन्धी अनुभवसहित बीमा प्राधिकरणको नेतृत्वमा आएका थापासामु बीमा क्षेत्रका नीतिगत अन्योल हटाउने, नियामकीय क्षमता बलियो बनाउने र बीमा कम्पनीहरूमा वित्तीय अनुशासन कायम गराउने जिम्मेवारी छ।

उनको अनुभवले बीमा क्षेत्रको नियमन, संस्थागत सुशासन र दीर्घकालीन विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। तर, प्राधिकरणको प्रभावकारिता उनको अनुभव र योग्यतासँगै नियामकीय निर्णयको निष्पक्ष कार्यान्वयन, बीमा कम्पनीहरूको जवाफदेहिता र संस्थागत सुधारका परिणामबाट मापन हुनेछ।