आईजीपीलाई व्यक्तिगत स्वार्थका आधारमा हटाउनु सत्ताको दुरुपयोग : ज्ञानेन्द्र शाही

आईजीपीलाई व्यक्तिगत स्वार्थका आधारमा हटाउनु सत्ताको दुरुपयोग : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई व्यक्तिगत स्वार्थका आधारमा पदबाट हटाउनु राज्यसत्ताको चरम दुरुपयोग भएको टिप्पणी गरेका छन्।

सरकारले कार्कीलाई पदबाट हटाएर मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि शाहीले यस्तो प्रतिक्रिया दिएका हुन्।

आईजीपीले कुनै अपराध गरेको भए कानुनअनुसार कारबाही हुनुपर्ने उनको भनाइ छ। उनले अपराध गरेको अवस्थामा प्रधानमन्त्रीको सल्लाहकार बनाएर राख्नुको सट्टा कानुनी प्रक्रियाअनुसार कारबाही गरी जेल पठाउनुपर्ने बताएका छन्।

‘आईजीपीले कुनै अपराध गरेका हुन् भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो। यदि आईजीपीले कुनै गल्ती गरेका छैनन् र कुनै पनि कानुनविपरीत काम गरेका छैनन् भने व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग हो,’ उनले भनेका छन्।

आईजीपीले गल्ती नगरेको अवस्थामा पनि पदबाट हटाइएको हो भने त्यसमा भ्रष्ट आचरण देखिने शाहीको टिप्पणी छ।