मनोज केसीलाई आईजीपी बनाउने मन्त्रिपरिषद्को निर्णय, दानबहादुर कार्की सुरक्षा सल्लाहकारमा

मनोज केसीलाई आईजीपी बनाउने मन्त्रिपरिषद्को निर्णय, दानबहादुर कार्की सुरक्षा सल्लाहकारमा

काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको बताइएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ। केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत छन्।

मन्त्रिपरिषद् स्रोतका अनुसार वर्तमान आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत भएको छ।

मुलुकको वर्तमान परिस्थितिमा शान्ति सुरक्षा व्यवस्था थप सुदृढ बनाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको स्रोतको भनाइ छ। सोही पदमा कार्कीलाई जिम्मेवारी दिने निर्णय भएको बताइएको छ। यसअघि पनि नेपाल प्रहरीका महानिरीक्षकलाई कार्यकाल पूरा नहुँदै जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएका उदाहरण छन्।

पूर्वआईजीपी अच्युतकृष्ण खरेललाई सरकारले पदबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो। दरबन्दी नै नभएको स्थानमा सरुवा गरिएको भन्दै खरेल सर्वोच्च अदालत पुगेका थिए। अदालतबाट मुद्दा जितेपछि उनी पुनः आईजीपीको जिम्मेवारीमा फर्किएका थिए। त्यसपछि सरकारले आईजीपी बनेका ध्रुवबहादुर प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो।

त्यस्तै, सुडान घोटाला प्रकरणमा मुछिएपछि तत्कालीन आईजीपी रमेशचन्द ठकुरीलाई पनि सरकारले सुरक्षा सल्लाहकारको जिम्मेवारीमा सरुवा गरेको थियो। उनको स्थानमा रवीन्द्रप्रताप शाहलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो।