देउवा पक्षले २६ जिल्लामा गर्‍यो अधिवेशन, कर्णालीमा सबैभन्दा धेरै

देउवा पक्षले २६ जिल्लामा गर्‍यो अधिवेशन, कर्णालीमा सबैभन्दा धेरै

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म आयोजना गर्ने भनिएको १५औँ महाधिवेशनअन्तर्गत हालसम्म २६ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ।

देउवा पक्षका अनुसार संखुवासभामा रामकुमार जिमी, डोल्पामा देउप्रसाद बुढा, हुम्लामा सूर्यबहादुर शाही, जुम्लामा नेत्रकला शाही, मुगुमा तिलक मल्ल, रुकुम पश्चिममा नन्दबहादुर विष्ट, दाङमा गोपालराज शर्मा र कालीकोटमा नगेन्द्र विष्ट जिल्ला सभापति निर्वाचित भएका छन्।

त्यस्तै, डोटीमा बाजीसिंह खड्का, बझाङमा हर्कजंगबहादुर सिंह, बैतडीमा वीरबहादुर विष्ट, रोल्पामा मानबहादुर खत्री, भोजपुरमा धर्मराज राई, दैलेखमा दिनेशकुमार हमाल, दार्चुलामा सुरेन्द्र अवस्थी र सल्यानमा दीपक चन्द सभापति बनेका छन्।

यसैगरी, धनुषामा कोमलकान्त झा, चितवनमा मिलनबाबु श्रेष्ठ, प्यूठानमा देवेन्द्र बर्मा, कपिलवस्तुमा राजेश सिंह, पर्वतमा यमबहादुर मल्ल (रामकृष्ण), म्याग्दीमा हिराबहादुर पुन, बारामा राजेश राय यादव, झापामा कृष्ण हुमागाईं, कास्कीमा ऋषिराम काफ्ले र सिन्धुपाल्चोकमा बालकृष्ण बस्नेत जिल्ला सभापति बनेका छन्।

कांग्रेस नेता डा. प्रकाशशरण महतले हालसम्म ६१८ स्थानीय तह, २२८ प्रदेश सभा निर्वाचन क्षेत्र र ११४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको जानकारी दिएका छन्।

उनका अनुसार जिल्लास्तरीय अधिवेशनतर्फ कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका चार–चार जिल्लामा अधिवेशन सम्पन्न भएको छ। गण्डकी प्रदेशका तीन तथा बागमती र मधेश प्रदेशका दुई–दुई जिल्लामा अधिवेशन सकिएको छ। कर्णाली प्रदेशमा भने सबैभन्दा बढी सात जिल्लामा अधिवेशन सम्पन्न भएको विवरण छ।

पालिका अधिवेशनतर्फ कोशी प्रदेशका १२३, मधेशका ७१, बागमतीका ९९, गण्डकीका ७२, लुम्बिनीका ९७, कर्णालीका ६८ र सुदूरपश्चिमका ८८ स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ।

प्रदेश सभा निर्वाचन क्षेत्रतर्फ कोशीका ३८, मधेशका ४६, बागमतीका ४६, कर्णालीका १६ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ३२–३२ क्षेत्रमा अधिवेशन सकिएको विवरणमा उल्लेख छ।

त्यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ कोशीका १९, बागमतीका २३, कर्णालीका आठ तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका १६–१६ क्षेत्रमा अधिवेशन सम्पन्न भएको जनाइएको छ।

असोज १५ गतेदेखि सुरु भएको देउवा पक्षको अधिवेशन कार्यतालिकाअनुसार कात्तिक १५ गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, कात्तिक १७ गतेसम्म आइपुग्दा २६ जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ भने थप चार जिल्लामा अधिवेशन जारी रहेको जनाइएको छ।